

भीडभाड सहरको कुना काप्चामा
धूलो धूवाँ घाम पसिना भुँलाउँदै
लम्कँदै ढल्कँदै गर्दा पाइला पाइलामा
झर्छ शिरिषको फूल ।
अतितको कथा, वर्तमानको नयाँ रुप
ठूलो आकारमा सहरभरि घुम्ने
सबैको साझा बसको छतमा
बस्छ शिरिषको फूल ।
कुचिकारको सानो कूचीमा होस् वा
साहित्यको ठूलो भूमिमा
हरेक कलाकारको कलामा अमर
अट्छ शिरिषको फूल ।
थकाउने दैनिकीमा पलभरको आभार जस्तो
बादलमा चम्किने चाँदीको घेराजस्तो
काठमाडौँको धुँलिदो सुन्दरतालाई सघाउन
फुल्छ शिरिषको फूल ।



