देश:
उता ‘यति’ आयो यता ‘बतास’ चल्यो
बिचैमा ‘सैलुङ’ले कति कुम्ल्यायो
नजानी नजानी कनै घेरिएँ म
जति भागूँ भन्छु उति बेरिएँ म।
मतदाता:
ललाई, फकाई, घुर्क्याई, धम्क्याई
मासुभात ख्वाई दारु नि चढाई
नजानी नजानी छिनी लट्टो भोटको
आफू माथि उक्ले तल झट्टी चोटको।
देश:
तिमी भोट दिने तिमी बुई बोक्ने
क्विन्टल माला गाँसी जिउ शरीर छोप्ने
अनि रुने दिनरात धारे हात लाई
बुद्धि आएन तिम्रो के खान्छौ ए भाइ।
मतदाता:
सबैलाई बोकिन आफ्नै नेता बोकेँ
राम्रा मान्छे भन्नु यिनै भनी खोकें
आफ्नो पाटीलाई त गर्नै पर्यो क्यार्नु
हामीले त तिम्लाई के खाई बिगार्नु।
देश:
दोष जति जम्मै अरुलाई लगाई
आफ्नाले लुटेको नदेख्ने तँलाई
सिस्नोपानी पैले यतै हानूँ कि म
बिराएको सम्झी सच्चिएर बोल तँ।
मतदाता:
थोरै आउला भागमा मह दुध घिउ
भनी बेसमारी गरेँ जिउ जिउ
साला नाती साली सम्धीलाई पोसे
सुको नि छिराएनन् बरु भाको खोसे।
देश:
सबैले मिलेर लुट्यौ लुछ्यौ तन यो
दुखेको छ भित्रैदेखि मेरो मन यो
तेरा हातमा छ भोटको तालाचाबी
तर बुद्धि छैन फेर्ने यी तथापी।
मतदाता:
मेरा हातमा त झण्डा छ पाटीको
युवा नेता हाम्रै उमेरले साठीको
कालोलाई सेतो सेतोलाई कालो
भन्न सिकाउँछन् समाती कठालो।
देश:
हुन्न विवेक फुक्का झण्डामा बसेर
बरु काँसी जानू खरानी धसेर
अबको भोटमा झण्डा होइन बुद्धि
कति चेत्छस् बाबै पखालेस् कुबुद्धि।
मतदाता:
पाटीले पठाउँछ यसलाई भोट दे भन्छ
को को कता जान्छ औँला भाँची गन्छ
पढेको इमानी चुनूँ भन्छ मनले
थाहा पाए हान्छन् कारबाहीको घनले।
देश:
झण्डाको वशैमा विवेक बेची खाने
तँ त कैदी रैछस् अब चिनेँ जानेँ
भर तेरै तै नि लाग्दछ मलाई
फेर्दे भोटले नेता नरुवा मलाई।
मतदाता:
हिंग बाँधेको टालो नसुँघी मलाई
निन्द्रै पर्दैन के थाहा तिमीलाई
हाम्रा त ठिकै थे विपक्षीले भ्याए
तिमीलाई चिथोरी महलै उठाए।
देश:
म त माटो पानी बतास खोला झर्ना
लमतन्न भूगोल के सक्छु र गर्न
तँ जनता जनार्दन बिकिस बुद्धि टाली
भने मेरो देह खाला को सम्हाली ?
मतदाता:
परिवन्दमा छु हुने आसमा छु
देश देश भन्दै पाटीबासमा छु
कमाउनु छ मैले पनि उनले जस्तै
एउटा घर र कार त नहुँदा नि कस्तै।
देश:
जात हेर्छौ नाक हेर्छौ भोट हाल्दा
के जान्छ तिमेरको निफनेर फाल्दा
पढेको, गुनेको बुझेको जगत
चुनी गर्देऊ छलको जमानत जफत।
मतदाता:
ललाई, फकाई, घुर्क्याई, धम्क्याई
मासुभात ख्वाई दारु नि चढाई
नजानी नजानी छिनी लट्टो भोटको
आफू उक्ले माथि तल झट्टी चोटको।
देश:
उता ‘यति’ आयो यता ‘बतास’ चल्यो
बिचैमा ‘सैलुङ’ले कति कुम्ल्यायो
नजानी नजानी कनै घेरिएँ म
जति भागूँ भन्छु उति बेरिएँ म।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।