अवाक् त्यो क्षण
असाधारण र खास थियो
अनपेक्षित मेरो उपस्थितिको
मिठो असमन्जस पन्छाउन सायद
दौडिरहेथे तिम्रा नयनहरू घरिघरि
झ्यालबाहिर फक्रिइरहेका
सेता-राता गुलाबहरूमा ।

पारू पाण्डे

उदाउँदो सूर्यले चम्केको अनुहारमा
असहजता लुकाउॅंदै सङ्कोचले
मन्द मुस्काइरहेका ओठ
र, सँगै यात्रा गर्ने योजनाहरूको
सुमधुर पर्खाइले द्रवीभूत मन
प्रष्ट छचल्किरहेथ्यो गुलाबी कानहरूमा ।

यस्तो थियो तिम्रो र मेरो पहिलो भेट
अलौकिक अनुभूतिलाई
मनले मन छोएको थियो
लाजले हो या पुसे हुस्सुको तोडले कुन्नि ?
तिमी ‘रातो’भएकी थियौ गुलाबजस्तै ।

मान्छेहरूको उपस्थिति
न तिमीलाई पत्तो थियो
न मलाई वास्ता थियो
यात्रीहरूको भीड पनि
हाम्रा लागि एकान्त थियो ।

अनुभव नै त सर्वस्व रहेछ,
लागिरहेथ्यो,
सारा ब्रहमाण्ड तरङ्गित थियो
बिनाशब्द तिमी गाइरह्यौ
बिनाचाल म नाचिरहेँ
हाम्रा मुटुहरू केही दूरीमा
बेतोड रोमाञ्च प्रक्षेप गरिरहे ।

त्यो पल हामीले एक अर्कालाई
नजानेरै स्वर्ग रचिरह्यौँ
नहेरेरै एक अर्कालाई
नछोएरै तनको आवरणलाई
विदित् भइरह्यौँ आत्मीय अनुभवमा
सम्हालिइरह्यौँ
सम्हालिँदै पोखिइरह्यौँ एकअर्कामा ।।