नारायण भट्टराई

नारायण भट्टराई
त्यो दिन
लिगलिगकोटमा राजा चुनिँदै थिए
रगत जस्ता राता टाटाहरू
टल्किरहेका
ध्वजा पताकाहरूले
सुसज्जित भव्य समारोह स्थलले
सँगै जोडिएको धुलाम्मे जीर्ण बाटो
अनि धुलोभित्र लुकामारी खेलिरहेका
झुपडीहरूलाई गिज्याइरहेझैँ लाग्थ्यो
तर त्यो बाटोबाहेक
लिगलिगकोटको रुप फेरिएको थियो
लिगलिगकोट झकिझकाउ भएको थियो
मानिसहरूको भिडाम्भिड थियो, खचाखच थियो
कोही सुराको चुस्कीमा मस्त थिए
कोही तारे भोजनमा ब्यस्त थिए
कोही फुर्सदको त्यो क्षणलाई
फोनको क्यामरामा कैद गर्न व्यस्त थिए।
राजाका प्रस्तावित उम्मेद्वार
आसेपासेसँग
कोठे बैठकमा व्यस्त थिए
तर
राजा चुन्ने दिन
सभास्थलको सजावटमा देखिने उत्साह
सहोभागीका अनुहारमा कतै पनि झल्किदै थिएन
किनकि आज त्यहाँ कुनै दौड हुँदै थिएन
त्यहाँ कुनै खुल्ला प्रतियोगिता हुँदै थिएन
सबैलाई थाहा थियो त्यहाँ
मतदाताहरू प्रायोजित थिए
प्रतियोगीहरू प्रयोजित थिए
राजा पूर्वनिर्धारित थिए
मतदाताहरू केवल त्यो क्षणको पर्खाइमा थिए ।
(इलाम नेपालमा जन्मेर हाल अल्बानी क्यालिफोर्नियामा बसोबास गर्ने नारायण भट्टराई स्कुले जीवनदेखि नै साहित्य सिर्जनामा सक्रिय हुनुहुन्छ । उहाँ “यशोभानु साहित्य तथा संगीत प्रतिष्ठान”को संस्थापक हुनुहुन्छ। उक्त संस्थाबाट उहाँ नेपाली साहित्य र संगीतको सेवामा सक्रिय रहँदै आउनु भएको छ । उहाँका दुई वटा गीत र म्युजिक भिडियो सार्वजनिक भएका छन्। हाल उहाँ इलामे सर्जकहरूलाई समेटेर “सिर्जनाको क्यानभासमा इलाम” नामको कविता, गीत र गजल संग्रह प्रकाशन गर्ने कार्यमा लाग्नु भएको छ । उहाँका लेख-रचना विभिन्न नेपाली र अंग्रेजी पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन्।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 




