Chovar Blues Mobile Size

तिमीलाई ठट्टा गर्न मन छ ?
आऊ
मसँग जिस्क

तिम्रो सन्तुष्टिका लागि
तिम्रो पाखण्डमतिका अगाडि

केही अपमान सहन सक्छु
आऊ
मलाई अपमानित गरेर
अट्टहास गर्ने तिम्रो रहरलाई
म पुरा गरिदिन्छु

सम्झ
म एउटा मानिस भएका कारण
एउटा मनोरोगी प्रतिका दयाले
यी सब गर्न तयार छु

विनीत बनेर सम्झाउँदै छु
भुलेर पनि
मेरो देशको एक डल्लो माटोसँग
ख्यालठट्टा नगर
मेरो देशलाई ख्याल नसम्झ

देशका लागि लड्नु परे
मलाई कुनै हतियार चाहिँदैन
म आफैँ बारुद हुँ
म आफैँ तरवार हुँ

मान्छे धारिलो बनेर बज्रिएको
मान्छे बम बनेर पड्किएको
कहिल्यै देखेका छौँ ?

अञ्जानमै किन नहोस्
मेरो देशसँग जिस्कियौँ भने
तिमीले मानिस पड्किएको
पहिलो र अन्तिम दृश्य देख्नु पर्नेछ

कसैका विरुद्ध
बारुद बन्नु नपरोस्
कसैको प्रतिकारमा
तरवार बन्नु नपरोस्
सधैँ कामना गर्दै
बसेको मैले
आग्रह गरिरहेको छु
कृपया
आफूलाई मान्छे बनाऊँ