दुर्गा राई

दुर्गा राई

बा ! मैले आज हारेर आएको छु
तिमीले सिकाएको नैतिकता
तिमीले दिएको शिष्टचार
आदर्शको पाठ, गणतन्त्रको सोच
आज सबै ती सम्राटहरूको सामु
झुकाएर आएको छु
बा! मैले आज हारेर आएको छु ।

त्यो हुलमा मैले जित्नु भनेको
तिमीले दिएको व्यवहारको पतान गर्नु हो
म चाहान्न बा तिम्रो स्वभिमानलाई तिलञ्जली दिन ।

त्यो युद्ध तत्कालिन थिएन
बैद्धिकताको कुनै मान थिएन
इतिहासको कुनै कदर थिएन
त्यो भेलामा इतिहासलाई सबै
झुटो साबित गरिरहेका थिए
बा के सबै झुटो हुन्छ ?
किन रटाइन्छ झुटो इतिहास हँ ?
किन पढाइन्छ भूगोलमा नै नभएको मानचित्रको रेखाहरू
किन कोरिन्छ सभ्यताको खोक्रो पदचिन्हहरू
तिमीले र तिम्रो समाकालिनले सयौ दिन खर्चेर
हजारौ नीति नियमहरूको ठेली
सम्बिधानको कुनै मोल थिएन त्यहाँ ।
त्यसैले बा! मैले आज हारेर आएको छु ।

बा! किन बनिन्छ सम्बिधान देशमा ?
किन रचिन्छ ऋचा वेदमा ?
किन सम्राटको हुकुमतमा सम्बिभधानको मोल हुँदैन ?
के सम्बिधान तिम्रो र मेरो निम्ति मात्र हो ?
म आक्रोषको आगो भएको छु ।
बा! म आगो, जलाउन चाहान्छु हुकुमत सम्राटहरूको
भत्काउन चाहान्छु, अघोषित सीमारेखाहरू
किन मान्य हुँदैन विधानमा
सम्बिधानका कुराहरू
किन ?बा! किन ? सम्बिधानमा लेखिएका
कुराहरू बार बार उलाङ्घन हुन्छ ?
म आक्रोष, सम्बिधानका विचारहरू च्यात्न चाहान्छु ।
जलाउन चाहान्छु रुढ परम्परा र सस्कारहरू
जमिनको सतहमा लडाएर विधानका खेस्राहरू
खुट्टाले किल्चिमिल्चि गर्न मन पर्छ ।
तिमीले सिकाएको आदर्शको खोलभित्र
गुम्सिएर कति बस्ने ।
विस्फोटित हुनु छ मलाई
बा! म रुढ शासकहरूको सामूह विस्फोट हुन सकिन
बा! मैले आज हारेर आएको छु ।