तिमीले झैँ निर्धक्क
धक फुकाएर
प्रणय प्रस्ताव राख्दै
राता गुलाब तिम्रा हातमा थमाएर
प्रणयकाे दरबारमा
आफूलाई राजा घाेषित गर्न
म किन सक्दिनँ ?

अङ्गालाेमा बेर्ने आग्रहमा आफैँ
चाैतर्फी पाणि फैलाएर
उमङ्गकाे राग झल्काउँदै चेहरामा
प्रणयकाे राज्यमा
आफूलाई राष्ट्रपति घाेषित गर्न
म किन सक्दिनँ ?

कसलाई चुन्ने वा छाड्नेकाे
स्वतन्त्र निर्णय गर्दै
मनकै बहुमतले
प्रणयकाे संसदमा
आफूलाई प्रधानमन्त्री घाेषित गर्न
म किन सक्दिनँ ?

सभ्यहरूका तर्कवितर्कसँग
तिमीले झैँ साक्षात्कार गर्दै
आधुनिक युगकी प्रतिनिधि नारी बनेर
प्रणयकाे सभामा
आफूलाई सभामुख घाेषित गर्न
म किन सक्दिनँ ?

चाहे न्याय हाेस् वा अन्याय
चुपचाप सहनु नियति ठानेर
रुनुबाहेक उहिल्यैदेखि
प्रणयकाे न्यायलयमा
आफूलाई न्यायाधीश घाेषित गर्न
म किन सक्दिनँ?

प्रणयका अनेक पदमा
एकतर्फी तिमीले मात्रै राज गर्दा
चुपचाप कहिलेसम्म सहनु
प्रणयकै चरमाेत्कर्षले
निम्त्याएका दुर्घटनामा
म पीडामा कति वहनु ?
तिमीले झैँ डुबाई अरूलाई
प्रणयका सागरबाट
माेती भेट्न
म किन सक्दिनँ?

वर्षैपिच्छे पालुवा फेर्दै
लहराउँदा तिम्रा प्रणय वृक्ष
एकै दाेषमा जिन्दगीभर
उजाड वृक्ष बनिसक्दा पनि आफू
बाँचेर जिउँदै म कति मर्नु?
प्रणयका हिमालमा
गाैरवले शिर उठाउने सगरमाथा बन्न
म किन सक्दिनँ?

न सम्भव छ नारीविना
तिम्रा प्रणयकाे पूर्णता
बिचैमा टुटाउँदा तिमीले
मात्रै ममा किन रुग्णता?
प्रणयका आकाशगंगामा
एकछत्र ज्याेति दिने सुर्य बन्न
म किन सक्दिनँ?

फुल्नु दाेष देख्छ समाजले
फूलकाे धर्म बिर्सेर
डुल्नु धर्म देख्छ भमरा
फूलकै मर्म बिर्सेर
प्रणयका बगैँचामा
माेज गर्ने भमरा बन्न
म किन सक्दिनँ ?

यति धेरै पनि चाहिएन भाे

उही समाजमा बाँचेर
उही सास फेरेर
उही अनुभूति साँटेर
प्रणय दिवसमा
प्रणयकै भाकामा
तिमीले झैँ सुसेल्न
म किन सक्दिनँ ?