तपाईँको राष्ट्रियता के हो मित्र ?
म बुझ्दिनँ
राष्ट्रियता तपाइँको
मनैबाट आउनु पर्छ ।
राष्ट्रियता तपाईंको, नसा नसामा बग्नुपर्छ ।
अनि राष्ट्रियता तपाइँको
हरेक काम गराईमा देखिनु पर्छ ।
त्यसैले म बुझ्दिनँ
तपाईँको राष्ट्रियता के हो मित्र ?

अमेरिकाको दाजुले ल्यापटप नपठाइदिए
तपाईंको कार्य चल्दैन ।
अष्ट्रेलियाकी बहिनीले मोबाइल नकिनिदिए
तपाईंको दिमाग चल्दैन ।
अनि अरबका भाइले घर नहेर्दि,
तपाईंको पेट चल्दैन ।
र खाडीका चेलीले राडी नबिछ्याइदिए
तपाईँको जिन्दगी चल्दैन ।
त्यसैले बुझिनँ मित्र !
तपाईंको राष्ट्रियता के हो ?

युग धेरै परिवर्तन भैसक्यो ।.
अबको लडाईँमा रगत हैन
मसिको प्रयोग हुनुपर्छ ।
बारुद हैन
वाक्य प्रयोग गर्नुपर्छ ।
र तपाईँको हातले बन्दुक समाउने हैन !
अब कलम समातेर अघि बढ्नु पर्छ ।
त्यसैले त म बुझ्दिनँ
तपाईँको राष्ट्रियता के हो मित्र ?

अझै पनि बाहुबलको धाक दिँदै हुनुहुन्छ ?
तपाईंको दिमाग प्रबल हुनुपर्छ ।
खाली बल वीर बहादुर मात्र बन्न नखोज्नोस्न
अब त बुद्धि वीर बहादुर पो बन्न जान्नु पर्छ ।
त्यसैले मित्र ! उग्र आवाज र रातो पाटीमा हैन
बुद्धि, विवेक अनि, वार्तामा विश्वास गर्नुपर्छ ।
त्यसैले म बुझ्दिनँ मित्र
तपाईँको राष्ट्रियता के हो ?