राजन पराजुली
कच्ची बाटोमा पंकी पिच हुन थाल्छन्
भत्किएका पुलहरूमा मर्मत कार्य हुन थाल्छन्
नयाँ नयाँ भवन
नयाँ नयाँ पुल
नयाँ नयाँ बाटोघाटो शिलान्यास गर्न थालिन्छ
अब त चुनाव आउन थाल्यो
वर्षौंदेखि चुहुने घरमा बस्नेहरूको
छानामा टिनका पाता सजिने छन्
भोकले छटपटाइरहेका
परिवारमा खानाको रास लाग्ने छ
च्यातिएका लुगा लगाएर बस्नेका
शरीरमा नयाँ लुगा देखिने छ
पढ्न नपाएकाहरू
विद्यालय छिर्न पाउने छन्
अब त चुनाव आउन थाल्यो
वर्षौंदेखि हराएका नेताहरू
घर घरमा
खेत खेतमा
नमस्कार गर्दै देखिने छन्
हिजो नमस्कार हजुर भन्दा नदेख्ने
नेताहरू
अब ज्यू ज्यू भन्दै
घर घर छिर्ने छन्
टोल टोल छिर्ने छन्
हरेक दिन हरेक नेता
घर घर छिर्ने छन्
अब त चुनाव आउन थाल्यो
कयौँ वर्षदेखि नभएका विकास
छिटो छिटो
हतार हतार
रफ्तारमा देखिन थाल्छन
देशमा विकासको काचुली फेरिन
थालेको भान देखाउने छन्
अब त चुनाव आउन थाल्यो
चुलोमा दाउरा नबल्नेहरूको
भाडामा अन्न नहुनेहरूको
आगो बल्ने छ
अन्न थुपारिने छ
गरिबको पीडा सुनिने छ
दुखीको दुखमा मलम लगाईने छ
अब त चुनाव आउन थाल्यो
गफले आकाशको तारा,जुन
धर्तीमा झारिने छ
फेरि पूर्व पश्चिमसम्म रेल कुदाइने छ
रोजगारीका कुराहरू गरिने छ
युवाले खाडी जानु पर्दैन भनिने छ
वर्षौंदेखि नभाको विकास
एक दुई महिनामा नै गर्ने झैँ
जनतालाई विश्वास दिलाइने छ
भ्रष्टाचार गरिने छैन
गर्नेहरूलाई छोडिदैन भनिने छ
मात्र सत्तामा रमाएकाहरूले
चर्को स्वरमा
फेरि भन्ने छन्
हामी बनाउने छौँ देश
अब त चुनाव आउन थाल्यो
जनताका हात हातमा
छिट्टै विलायर जाने झुट्टा कागजी
सपनाका चाङहरू थमाइनेछ
विमारले छटपटाई रहेकाहरूलाई
डाक्टर बनेर उपचार गराइनेछ
वर्षौ देखि अड्किएर रहेका विकास
धमाधम गराइनेछ
अब त चुनाव आउन थाल्यो
उही पुरानो नेता
उही पुरानो बाचा
उही पुरानो पाटि
उही पुरानो आश्वासन
उही पुरानो विकास
उही पुरानो सपना
उही पुरानै कुरा
फेरि एकपटक गाउँ गाउँ घन्किने छ
अब त चुनाव आउन थाल्यो.. ।
चितवन
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।