डिबी कट्टेल

 

स्वप्निल सिर्जनाको आँखा चिथोरिएर चुहिएको रगत क्षितिजमा बग्दै
मिर्मिरेमा गएर पोखिएको बेला
उनले भनिन खोइ कहाँ छ जीवनका लागि आदर्शहरू ?

एउटी आमाको मुटु छिया-छिया हुँदा बर्सिएका आँशुहरू
भरोसामा गएर छचल्किएको बेला
उनले भनिन्, खोई कहाँ छ जीवनका लागि न्यायहरू ?

आकाश हेर्दै उनले सम्झेकी थिइन् जीवनका कल्पनाहरू
त्यहाँ थिए निर्दोष- निर्दोष प्रतिबिम्बहरू
केवल
निर्मलाका !
भागरथीका !
लगायत… लगायत सयौँ.. सयौँ.. अबोध सपनाहरूका।

विश्वासको छाती लत्याएर
शान्त हिमालका आखा चिथोर्नेहरूको भिडमा
उनले फेरि भनिन् खोई कहाँ छ जीवनका लागि भरोसाहरू ?

बगेका कन्चन नदीहरूमा मृत्युकारी बिष ओकल्दै
मिर्मिरेका सुन्दर शीतहरूको आभा लुट्नेहरूको जमातमा
उनले फेरि भनिन खोई कहाँ छ जीवनका लागि सहाराहरू ?

गन्तव्य खोज्दै मात्र उनले एक मुठी माया सँगालेकी थिइन्
त्यहाँ थिए फक्रँदै गरेका फूलका छायाहरू
केवल
निर्मलाका
भागरथीका !
लगायत….लगायत सयौँ.. सयौँ…अबोध सपनाहरूका ।

यसैले, कैयौँ फूलहरूका लागि जीवन जिउने क्रममा
आदर्श केवल एक प्रश्न बनेको छ
एक मुठी सासको अस्तित्व जोगाउने क्रममा
भरोशा केवल एक आघात बनेको छ
जीवनका लागि मिठा भाकाहरू सिउने क्रममा
सहाराहरू आमाकै छाती चिरिने पहिरो मात्र बनेको छ
अनगिन्ति अठोटका सपनाहरू तुहिएका बेला
उनीहरूका लागि न्याय केवल एक लाश मात्र बनेको छ
…. न्याय केवल एक लाश मात्र बनेको छ।

बेइजिङ, चीन