सुशील नेपाल

 

सुशील नेपाल

तिमीलाई आँखामा राख्छु भन्थें,
ऐना हेरेको आँटै भएन,
तारा टिपेर दिन्छु भन्थें,
नसकिने कल्पना रहेछ, सकिएन !
गर्न सक्ने कुरा भन्छु,
तिम्रो हात आफ्नो हातमा राखेर,
खोला किनारमा बसेर,
केही तिम्रो सुन्न सक्छु,
केही आफ्नो भन्न सक्छु !
तिमी मेरो मुटुमा छिर्छु पनि न भन्,
सक्दिनौं।

आँखामा बस्छु पनि नभन,
सक्दिनौ,
नसक्ने र नहुने कुरा आज नभन,
तारा गनेर सक्दिनौ,
नगन,
भावनामा आउँछन् भने आउन देऊ
रमाइलो लाग्छ,
तर आऊ दुई चार कदमसँगै हिँडौँ
तिमी हिँड्न सक्छ्यौ,
दुई चार कदम म हिँड्न सक्छु,
हिँडछु,
गीत र गजलमा भावनालाई बग्न देऊ,
आज म बस्छु तिम्रो छेउ
तिमी बस मेरो छेउ
बग्दछ बादल बग्न देऊ,
हावालाई पनि चल्न देऊ,
चराहरू चीरविर चीरवीर गरिरहून् ।

बदलिएका पातको रङ हेर,
को होला त्यो चित्रकार ?
कौतुहलले आल्हादित हुन सक्छौँ,
हामी दुवै !
धरतीमै बस मसँगै,
विपनामा,
म तिम्रो हातमा सुस्तरी सुम्सुमाउँला,
तिम्रा आँखामा लेखेका प्रेमिल भड्गीमालाई निर्बाध हेर्न देऊ,

म तिमीलाई हेरि रहूँला
तिमी मलाई हेरि रहू !

 

बोस्टन
अमेरिका