राजीव आचार्य
*****************
तिर्खाएर अयौ तिमि मैले दिएको पानी असुद्ध भो
त्यागेर गयौ !
अरु तिर्खाएर आयौ तिमि मेरो जोवन  रसिलो भो
भोगेर गयौ !
पानी त दिएको मैले कन्चन थियो
त्यसमा कसरी फोहोर देख्यौं ?
जवानी त पोल्टोमा मेरो लुकेको थियो
त्यसमा कसरी बासना देख्यौं ?
मुहान बिटोलिन्छ तिम्रो भनेर
मैले नदि तर्ने शाहस गरिन !
साइत बिग्रीन्छ तिम्रो भनेर
मैले बाटोमा हिड्ने आट गरिन !
हे देव,
तिम्रो देवालयको पर्खाल किन एत्रो अग्लो ?
मैले उफ्रेर नि तिम्रो भगवान देख्न सकिन
तिम्रो यौवनको बासलय किन एति होचो ?
मैले निउरेर नि टाङ्ग मुनि हेर्न सकिन !!
मेरा बाउबाजेले
पसिनाले सिचेका
शिल्पहरु तिम्रो अट्टालिकाका शोभा बन्दछ्न !
घामले नदेखेको
हावाले नछोएको
मेरो आङहरु तिम्रो रहरको पुतला बन्दछ्न !
सिमानाहरु हाम्रो बिचमा
कोरेको त मैले होइन तिमिले नै हो !
फेरि किन पारिको सिरेटोले
मलाइ जहिले कठिङ्ग्र्याउछ ?
अनि किन वारिको न्यानोले
तिम्रो आङलाई जहिले तपाउछ ?