कुञ्जदेवी उपाध्याय

कुञ्जदेवी उपाध्याय

मानिस सभ्य भनेर भन्नु कसरि सारै विपद् छ यहाँ,
छोरी जन्मे भनेर स्वास्नी कन लौ कुटपिट गर्छन् जहाँ।

छ सम्पत्ति भने पुरुषहरू यहाँ दोस्रो बिहे गर्दछन्,
राजनीतीक हरूको त के कुरा गरौँ यस्ता अरू धेर छन् ।

छोरो हो कुलको उद्धार गर्ने भन्ने सबै ठान्दछन्
त्यसैले अझसम्म छोरीहरूलाई बोझ हो भनि भन्दछन्।

दोष दिन्छौं किन नारीलाई यसरी हो मुर्खता जानिल्यौं,
रोपे धान कहाँ लौ फल्दछ मकै यो सत्य हो मानि ल्यौ।

आमा बाबु सखी दिदी बहिनी सब छोडेर आइकन,
गर्छिन् नारी सब काम नयाँ घरमा जानि नजानिकन ।

गल्ति केही भए सिकाइ दिनु मैं हित हुन्छ सबको जब
हुन्न गालि गरेर केही फल लौ सद्भावना घट्दछ ।

छोरी हुन गृहकी त्यो सुन्दर फूल झैं तिन्को अनादर किन,
बुहारीहरूमा छ प्रेम जुन घरमा सुख बस्छ त्यही सुन ।

कुञ्जदेवी उपाध्याय
शिवसागर
असम, भारत