कविताः मातृरोदन

लियौ जन्मै लाखौँ हरित थलमा पुन्य भवमा
कुची नाची खेली सकल मन हुर्क्यौ सयलमा
उकाली ओराली समथर हिँड्यौ ती चरणले
लियौ शिक्षा दीक्षा गुरुजन सखाका सुमनले ।१।
खनी कोदालीले तन मन लगाई नगरमा
फलाई खान्थ्यौ हे तर भुलिगयौ अन्य थलमा
गयौ छाडी आफ्नो जनमधरणी मस्त धुनमा
भुली छाड्यौ मेरो सरस ममता स्वार्थ सुनमा ।२।

रुँदै बस्छिन् आमा हरपल सधैँ भिझ्छ नयन
कुरेकी छन् बाटा तर दिन निशा छैन चयन
सबै बाँझा एक्ला जनरहित बस्ती जमिनले
झुकेका छन् तिम्रा रगत, पसिना शून्य पनले ।३।
अहो ! ताल्चा ठोकी अलमल गरी जन्म सदन
चुँडाली के पायौ ? परिचय निशानी मुटु धन
सुकायौ हे भ्राता पलपल विकासै मुलुकमा
दियौ पोख्यौ प्यारो अथक् श्रम तिम्रो किन त्यहाँ ?४।
मुठी माटो, जाँतो जब गलिगए बर्कत सब
भिराला यी पाटा हर सुकिगए स्वप्न अब त
बुढा खाडा एक्लै युवक बलिया दूर गमन
जहाँ बेचेका छौ श्रम र पसिना जीवन धन ।५।
गले मेरा आँखा पवनबिचमा टोलिइकन
उडी आऊ बाला सररर तिमी शौर्य सुरमा
बिराऊ यी पाखा कर बल लगाई स्वधनमा
सुगन्धी पारे है सकल अवनी यो भुवनमा ।६।