विजय घिमिरे
अभावमा रहर र प्रेमका
स्वप्निल रङहरू जम्मा गर्दै
दिनभर हलगोरुसँगै जोतिएर
जिउ नै उठाउन नसक्ने गरी गलेको म
तेरी आमाको एक मुस्कानले
सारा थकान बिर्सदै
प्रेमको रंगीन संसारमा हराउँथे
त्यही प्रेमको नासो स्वरुप
तँ आइस्, हामी दुईबाट तीन भयौँ
लाग्यो जीवनले पूर्णता पायो
अभावमा जिन्दगीले रमाउन पनि दिँदोरहेछ
मात्र बाँच्न अनि हाँस्न जान्नु पर्दो रहेछ
जिम्मेवारी बढ्दै जाँदा
दुःख बढाउँदै लगेँ
सकेको र जानेको
तेरो बाल्यकाल र युवा अवस्थाको खुशी किन्न
मैले र तेरी आमाले
आफ्ना रहरहरु खुम्चाउँदै लग्यौँ
बचेराहरू हुर्केपछि
गुँडमै कहाँ बसिरहँदोरहेछ
हिजो तेरालागि सबै जान्ने म
आज केही नजान्ने भएको छु
त्यसैले तेरो विदेशिने ढिपी
टार्न सकेको छुइनँ
तँलाई आँखै अघि हेरिरहने
आफ्ना सपना पूरा गर्न मात्रै
मैले तेरो फैलिएको
पखेटाको गति रोक्न सकिनँ
मन भारी बनाएर बिदा गरेँ
बच्चा हुर्केपछि गुँडमा
बुढाबुढी एक्लै हुनु त
नियति भएको छ अचेल
तर प्रत्येक महिना तैँले पठाउने
डलरहरूले पनि खुशी त दिँदो नै रहेछ
तेरो कमाईले घरका भित्ताहरु फेरिए
समग्र घर फेरियो
ऋण सकियो
अभावहरू सकिँदै गए
लाग्यो, यही जीवनमा खुशी हुन लेखेको रहेछ
तर दुःखीको घरमा त सुख त पाहुना जस्तो हुँदोरहेछ
एक्कासि वज्रपात जस्तो
तेरो मृत्युको खबर आयो
बुढेसकालको लाठी भाँचिएको खबर
आफूले त सुनेँ
तेरी आमालाई कसरी सुनाउँ
बुहारी भित्र्याउने सपना देख्न छोडी दे भनेर
उसलाई कसरी भनूँ
हे दैव
कस्तो यो तेरो लीला
रुँदा रुँदा यी आँखाबाट
आँशु रित्तिसके
छ दशक काटेको यो बुढो शरीर
अनि त्यत्ति नै बुढो मन
छोराको लाश हेर्ने पर्खाइमा
आँशु पिउँदै बसेको
महिना दुई महिना गर्दै
तीन महिना भैसक्यो
हे सरकार, तँ गरिबको पनि होस् भने
मेरो छोराको लाश झिकाई दे
रुँदा रुँदा थाकेको यी आँखा
अनि कलेँटी परेको ओठमा
छोराको लाश हेरेर भए पनि
हाँसो छाउला ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ कार्तिक २०८२, आईतवार 






