सृष्टि मल्ल

वर्षौँ पहिले
मेरा बा’ले डोरीको सहारामा
उच्चस्थानमा पुर्‍याउनु भयो
एक महामहिमलाई निर्धक्क बनेर
डोरी नचुँडिने बनाउन
रात-दिन नभनी लाग्नुभयो

कहिले भोको पेट
कहिले खाली खुट्टा
कहिले जिन्दगीलाई हत्केलामा राखेर
कहिले परिवारलाई बन्दुकको नोकमा राखेर

तुसारोमा आकाशलाई ओढ्ने बनाएर
धर्तीलाई ओछ्यान बनाएर
चिरिएका हत्केलालाई डोरी बनाएर
भोको पेटलाई धर्ती बनाएर
फुटेका नाङ्गो खुट्टालाई फलाम बनाएर

बलियो बनाउनु भो डोरी
काँधमा राखेर उकालिदिनु भो
डोरी बनेर पुगे सत्तासम्म

आज पनि डोरी झुण्डिएकै छ

तर फरक तरिकाले
माथि पुगेकाले तान्लान् कि भन्ने आशमा
सत्तामा पुगेर साथ दिनेछु भनेको वचनमा

तर अफसोस
त्यो डोरी बिचबाट छुट्टी नै आँटेको छ
माथि बस्नेहरूले टुग्याउनै आँटेका छन्
कपासलाई जसरी
दियो नबनुन्जेल तानिन्छ
र दियो बनेपछि जसरी चुँडालिन्छ

तर त्यसरी चुँडाएका भने छैनन्
किनकि तिनलाई थाहा छ
फेरि सत्तामा पुग्न
मेरै बाको डोरी चाहिन्छ ।

 

स्याङ्जा