प्रेम शेर्पा ‘विरोकी’

प्रेम शेर्पा ‘विरोकी’

नानीहरू ओइलिरहेछन्
झुप्रो झुप्रोमा खान नपाएर –
यिनैका बाबुहरू लडिरहेका छन्
पूर्व र पश्चिममा रगत बगाएर।

खूनको बदला खून दिनपर्ने
गुणको बदला गुण दिनपर्ने
तर, यहाँ त वीरका सन्तानलाई
लत्याइएका छन् दास जस्तो।
अनि, कम्जोर बनाएर हुत्याइएका छन्
लडाईमा पर्ने पूर्खाका लास जस्तो।

रगत र ज्यानको बदला
त्याग र बलिदानको बदला
मात्र भी.सी. र चक्रहरू?
चाहिएन, फ्याँकिदेऊ!
यी चाँदी र पित्तलका टुक्राहरूलाई
बहिष्कार गरिदेऊ!
ती बैगुणीका बोक्रे सहानुभूतिहरूलाई
जसले केही दिएका छैनन्
तिमी र तिम्रा सन्तानहरूलाई।

केवल नकली ‘धन्यवाद !’ ‘धन्यवाद !’
सेता र काला हातहरूका ढाडभरि धाप।
वीरत्वले रन्केका वीरको छातीमा
यहाँ पीरै-पीरको छाप।

आज, आगो सल्केर डडेलो लाग्नुपर्छ
यो वीरको छातीबाट !
बम फुटाएर भत्काइदिनुपर्छ केयौँ छातीहरू
आज यही वीरको छातीबाट !!

हाम्रो रगत पानी होइन
जो सधैँ तिम्रो लागि बगाइदिऊँ
हामी तिम्रो दास होइनाैँ
जो तिम्रो लागि बाँचिदिऊँ।
हामी पनि त बाँच्नपर्छ
हाम्रा भावि सन्तानलाई हँसाएर
हामी पनि त हाँस्नपर्छ
हाम्रा अस्तित्वलाई बचाएर।