
वासुदेव अधिकारी
चुनावबाट
पार्टीबाट
समानुपातिकबाट
आयौँ हामी संविधान लेख्न
सबैले आआफ्नो लुगा लायौँ
सपथ खायौँ
यो भान्सा हो मिठो पकाउने
यो समूहगान हो
जीवन गाउने
हामी भान्सामा पुग्यौँ
आफूले जानेका गीत गायौँ
मुख्य गायकहरु
समूहमा नआउने
सहायकहरुले
मुख्य गीत नै गाउन नपाउने
निकै जटिल भयो समय
सेसन आइरह्यो
सेसन गइरह्यो
तलब आइरह्यो
पेश्कीको निरन्तरता
बिल भर्पाईको पहाड
समय आइरह्यो
समय गइरह्यो
हामी भान्सामा !
दाल तरकारी पाकिसक्यो
चामल नै छैन
भुटन पुत्पुताइसक्यो
सिकार नै छैन
सिकार लिन गएको भान्से
गाउँको चेली बलात्कारमा फस्यो
चामल लिन गएको मान्छे
मित्र हत्यामा पक्राउ पर्यो
कसरी तुर्ने यो भान्सा ?
असिनपसिन छौँ
लाजले भुतुक्क छौँ
मित्रहरु,
तपाईँको भोक- स्वभाविक छ
तपाईँको तृष्णा- स्वभाविक छ
समय थपेर पनि
हामीले थालमा केही हालिदिन सकेनौँ
आयु लम्ब्याएर पनि
हामीले समूहगान गर्न सकेनौँ
भान्सा जिम्मा दिएपछि
हामीले तपाईँलाई
दालमात्र दिने ?
तरकारीमात्र दिने ?
ग्लानि छ हामीलाई
माउ भान्से
बेग्लै काँटको पर्यो
सिकार लिन जाँदा बलात्कारमा पर्ने
चामल लिन जाँदा हत्यामा सामेल हुने
यहाँहरुको भोक थाहा छ
समय थाहा छ
मानस आँधी थाहा छ
तथापि निरुपाय छौँ
सामलविहीन छौँ
हेर्न भ्याउनुभएको छ
हाम्रो आँतको पसिना ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ मंसिर २०८२, आईतवार 










