आजको डुवर्स-३

घरि-घरि बल्न खोज्छ
झिपिक्-झिपिक् गर्दै
आगो !
खरानीले छोपिएको पनि
अब धेरै दिन भएछ ।

चिसोपानीको बारम्बार प्रहारले
भिजाउँन कहाँ सकिरहेको छ र ?
आगोभित्रको
जलिरहेको त्यो ज्यानलाई !
भतभती पोलेको
अनुहारको विज्ञापन
दैलैपछि खुट्टा टेक्छ
अनि,
घरभित्रको विकलाङ्ग हेराईमा
आफ्नो संसार जिउँछ।
लामो हिँडाईमा उसको थकानले
कहिल्यै भाव पाएन
दुखाइको अक्सनमा….

हो!
चु…प्प लागेको छ
त्यो आगो ।
आगो बोल्दा यहाँ
कविता मात्र कोरिन्छ
भोक र तिर्खाका पुस्तकहरू
प्रकाशित हुँदा-हुँदा
अक्षरहरू अमन भइसकेका छन् ।

पर्खिँदो हो झिल्काहरू !
कसैलाई नटेरी
एकदिन फेरी
जङ्गलभरि छरिने हुन्
चियाबारी, मकैबारी, धानखेतहरू हुँदै
राजमार्ग छ्‌याप्पै ढाक्दै
फेरि-फेरि खरानी बनाउँने हुन्
अनि,
आफू पनि खरानी बन्ने हुन् ।

-(कविता सङ्ग्रह ‘समयाभास’-बाट साभार)
(डुवर्स, भारत)

(डुवर्स क्षेत्र भन्नाले भारतको पश्चिम बङ्गाल राज्यअन्तर्गत टिस्टा नदीदेखि सुनकोश नदीसम्मको भुभागलाई बुझिन्छ, जुनचाँहि जलपाईगढी हनि अलिपुरद्वार जिल्लाभित्र पर्दछ। यहाँ बाक्लो संख्यामा नेपालीभाषीहरूको उपस्थिति पाइन्छ। यसक्षेत्रमा १५० भन्दा बढी चियाबगानहरू रहेका छन्, हजारौँ नेपाली परिवारहरू यी बगानहरूमा आश्रित छन्। तर धेरै बगानहरू कि त बन्ध छन्, नभए रूग्न अवस्थामा छन्। यस्तो परिस्थितिमा पनि यहाँ विगत ६५-७० वर्षदेखि यहाँका साहित्यकारहरू साहित्य सृजनामा होमिएका छन् एवम् वर्तमान समयमा धेरै साहित्यकारहरू सक्रियरूपमा आएर राम्रा-राम्रा कृतिहरू पाठकहरूलाई चढाइरहेका छन्।)