रामजी प्रसाद आचार्य

 

ऊ पनि त एउटा साक्षी थियो
घाँस दाउराको भारीमा
सापो बनेको
मेलापातको चटारोमा
मसँगै रुल्मुलिएको
अइँचोपैँचो व्यवहारमा
नासो चिनेको
अनि बिष्ट कहाँको कचहरीमा
मेरो उपस्थितिलाई ओजिलो बनाएको ।

मेरो शिरको शोभा
जो कतै छुटेको छ
र त्योसँगै छुटेको छ
मेरो पसिनाको मूल्य
आपसी भाइचारा
निष्ठाको परिचय
अनि न्याय र विवेक
अब चौतारीको बतासले मलाई चिन्ने छैन
अब पाखा पखेरु रनवनले मलाई सोध्ने छैनन्
अब खोज्ने छैनन् देउराली माइथानमा चढाइएका फूल पातीले
अब बुझ्ने छैन मेरो माटोले मलाई
एउटा विरानो देशको बटुवा झैँ भएको छु म
के हो तेरो परिचय भनेर कोही कसैले सोध्ने हुन् कि भनेर
म डराइरहेको छु
किनकि छुटेको टोपीसँगै
म मित्रता अनि मिलापबाट छुटेको छु
म दुश्मनको बैरताबाट छुटेको छु
आफन्तको भरोसाबाट छुटेको छु
सम्बन्धका हरेक श्रेस्ताबाट
कल्पनाका हरेक कित्ताबाट
मेरो लगत कट्टा भइसकेको छ
किनकि छुटेको मेरो टोपीसँगै
मेरा सारा चिन्तन, शक्ति र सामर्थ्य छुटेको छ

पोखरा