श्रीबाबु कार्की उदास

श्रीबाबु कार्की उदास

कफी सपमा छु
टेबलमा तिम्रो याद र कफी
एकसाथ सेलाउँदै गएको छ ।

अलिकति कफीको चुस्की र
तिम्रो चीसो याद पिएर बसिरहेको छु – एकान्तमा

हृदयबाट चुहिएको – उदास साँझ
कति बोझिलो हुन्छ
जो तिमीलाई थाहा नहुन सक्छ

सिंगो युगभन्दा भद्दा र लामो लागिरहेछ
तिम्रा रुमानी यादहरूसँग एकालाप गरिरहेको समय !

घरी मुटुमा-
हुनहुँनाउँदै-हुनहुँनाउँदै बग्छ – प्रेमिल हावाको तीव्र चाप
घरी मनभित्र-
छाल मारिरहेको हुन्छ – बैंसालु सुनामी
हृदयमा लगातार आइरहने – मायाका परकम्पनहरू
तिमी कसरी भुल्न सक्छौं – हाम्रा अगणित यादहरू ?

हिसाबबाट
एकाएक हराएपछि कुनै अंक
कसरी मिल्छ र दुरुस्त हिसाब ?
त्यसैगरी जिन्दगीको हिसाबबाट – तिमी हराएकी छ्यौ ।
यसर्थ मिलिरहेको छैन जीवनको जोड

मनको दूलोबाट
साँझ छिचिमिरा उडेझैं-
उडिरहेका छन् हुरुरु – तिम्रा सन्दिग्ध स्मृतिहरू !
निर्निमेष हेर्छु – टेवलको कप
उसैगरी उडिरहेछ शून्यतामा – कफीको वाफ !

कफीको नशामा छु
मनमा तिम्रा यादहरूको
चिसो रुमाल सुकाउँदै
कफीसंगै चुपचाप पिइरहेको छु – प्रेमको सन्नाटा !