मैले सुनेकी थिएँ कलियुगमा
मायाको बजार लाग्छ रे
मोल, तोल, तौल, त्याग
किनबेच लिलाम
सबै हुन्छ रे

अनायास एकदिन
थाहै नपाई म पनि
पस्न पुगेछु यही नगरीमा
साटासाट गरेछु मुटु
डुबुल्की मारेछु त्यही सागरमा

पूर्व, पश्चिम, उत्तर, दक्षिण
रात, दिन, बिहान, धर्ति, आकास
जहाँ पनि, जति बेला पनि
उसकै मात्र देख्न थालेछु
प्यारो प्यारो प्रतिविम्ब

तर, अर्को दिन बल्ल थाहा पाए
ऊ पनि कलियुगको
एक भलादमी व्यापारी रहेछ, मायाको बजारको
मोल मलाइ गर्न थाल्यो ऊ निकै सभ्य पारामा
लेन र देन नबुझिने भाषामा

मेरो अमूल्य, असाट्य माया
मूल्यहीन भयो आधुनिक मायाको बजारमा
फर्काउनै नमिल्ने नासो त्यो
सदा सदाका लागि कलियुगको कृष्णलाई चढाउँदै
लुरुक्क लुसुक्क निस्केँ म
मुर्दाशान्त
भावनाको चित्कार अनि नारकीय कोलाहलयुक्त
हाटबजारबाट
फुत्त पसे नजिक अनि टाढा टाढाका दोकानहरुमा
सोधे…
के यहाँ नबेचिने नकिनिने
मायासित मात्र साटन मिल्ने
माया पाइन्छ?

दोकानेहरु एक कान पनि नभएका जस्ता
मूकर्दशक भएर हेरिरहे, मात्र हेरिरहे
लाटो रिसाएजस्तै…