आज म स्वतन्त्रतापूर्वक विचरण गर्दैछु ।
अहँ मलाइ कहीँ कतै अवरोध छैन ।
साना तिना झोँकाहरू अवरोध बनेर आउन खोज्छन ।
तर तिनको केही लाग्ने देख्दिनँ ।
ति अवरोधहरू अर्काको बलमा चम्केका हुन् ।
थाहा छैन तिनको अस्तित्व कतिञ्जेल सम्म हो ।
आज विश्व मानव जाति
बन्दाबन्दीमा बन्धक भएको देख्दैछु ।
कति ठीट लाग्छ मलाई
हिजोका दिन सम्झन्छु
मानवले कति श्रेष्ठ ठान्थ्यो आफूलाई
जहाज बनाएर आकाश छुने प्रयास गरेथ्यो
चन्द्रमामा पुगेर सूर्यमा पुग्ने कल्पना बुनेथ्यो ।
आज अदृश्य कणले बन्धक बनाएर मानवलाई
चाबी बोकेर विश्व ब्रम्हाण्ड घुमेको छ ।
बिरालोको घाँटीमा घण्टी बाँध्ने प्रयन्न
सबैतिरबाट भएको देख्छु ।
तर फेरि त्यही बिरालोदेखि
सबैलाई डर बढदै गएको छ ।
भुतलमा बसेर स्वतन्त्रताका संग्राममा होमिनेहरू
हार माने झैँ मुद्रामा झोक्राएको देख्छु ।
अहिले यिनको अगाडि केवल
प्रकृति मात्र जीवन्त छ ।
कृत्रिक सहरहरू ठप्प छन् ।
मानव विचरण बन्द छ ।
कति बेचैनीका सास फेरिरहेछन ।
कोही विरह गीतमा स्वर भरिरहेछन् ।
बन्धक भएको मानव जातिले
अहँ देख्न सकेको छैन विश्व
क्यामराका लेन्सहरूमा चित्रित
केही आकृतिमा चित्त बुझाउँदैछन ।
म भने विश्व बन्धक भएको बेला पनि
स्वतन्त्रतापूर्वक विचरण गरिरहेछु ।
मलाई कतिले बन्धक हुनुपरेको कारण मान्लान
तर अहँ म त केवल नित्य निरन्तरको यात्रामा छु ।
कतिमा पदिय घमण्ड देख्छु र कतिमा अहंकार
थाहा छैन तिनको गतिमा कहिले अवरोध आउने हो ।
कतिबेला तिनको घमण्ड चकनाचुर हुन हो ।
केही निश्चित छैन
तर पनि तिनको अल्पज्ञान देख्दा दया लागेर आउँछ ।
तर पनि खुसीको कुरा छ अब
सबै मिलेर अघी बढे
मानव जीवन सरल बन्ने दिन छिट्टै आउनेछ ।
दुई चार दिन स्वतन्त्रता गुमाएरै पनि
गुमेको स्वतन्त्रता फिर्ता ल्याउन सबैजना लाग्नुपर्छ ।
मानव जाति हो अब
आध्यात्मिक चेतनामा जाग्नुपर्छ ।
सिर्जनशीलतामा लाग्नुपर्छ ।
प्रकृति प्रेममा रमाउंदै
उत्पादनशिलताको अनुशरण गरी
अरूले भरेको हावामा होइन
आफ्नै खुट्टामा टेक्ने साहस गर्नुपर्छ ।
किनकि
अब छिट्टै स्वतन्त्रताको पुनर्वहाली हुने दिन आउँदैछ ।
विश्वभर खुसी छाउँदैछ ।
दुई चार दिन स्वतन्त्रता गुमाएर सही
स्वतन्त्रताको पाबन्दी हट्ने दिन आउनेछ ।
स्वतन्त्रताको महत्व बोध गर्दै
यसको पुनप्राप्तिमा सबजन होमिनुछ ।
आशा गरौं यथाशीघ्र
स्वतन्त्रताको पुनर्बहाली हुनेछ ।
अनि फेरि साथ भइ मानव जातिसँग
विश्वभ्रमण गर्ने दिन आउनेछ ।
सबै मानव जातिमा स्वतन्त्रताको उमंग छाउनेछ ।