साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

जिन्दगीको बिसौनी

Chovar Blues Mobile Size

भञ्ज्याङको चौतारीमा
आ–आफ्ना भारी बिसाउँदै गर्दा
भएको हाम्रो पहिलो भेट
एक खिल्ली चुरोट आधा आधा खाएको
एक अम्खोरा पानी आधा आधा पिएको
अनि एक अर्काको गह्रौं भारी उठाउन सघाएको
विपरीत दिशाबाट आएका हामी
संयोगले भेट भएका थियौँ ।

पसिना ओभाएपछि
बढेको धम्की रोकिएपछि
चुरोटको ठूटो सकिएपछि
थिएन कुनै बहाना हामीसँग
धेरैबेर त्यहाँ रोकिनुको ।

छुट्टिनु त थियो नै आखिर
तिमी लाग्यौ उँधोतिरको घोप्टे ओरालो
म लागेँ उँभोतिरको फुस्रे उकालो
उत्तरी ध्रूवको चिसो सिरेटो उक्लदै गर्दा
किन किन तिम्रो दक्षिणी ध्रूवको न्यानो खोज्दै थिएँ
दक्षिणी सूर्यको उष्ण तापमा
तिमीले पनि उत्तरी वायुको शितलता खोज्दै थियौ कि कुन्नि ?
अचेल पनि त्यही चौतारीमा पुग्दा
चुरोट सल्काएर तिमीलाई नै पर्खी बस्न मन लाग्छ
आधा खिल्ली तानेर आधा तिम्रैलागि छोडिराख्न मन लाग्छ
आम्खोराको पानी आधा पिएर
आधा तिम्रैलागि साँचिराख्न मन लाग्छ
भारी हलुङ्गै हुँदा पनि
खै किन हो तिम्रै हातले घचेडी माग्ने आस लाग्छ ।

सम्झिरहेको हुन्छु
तिमीले पिएपछिको त्यो पानीको मिठास
तिमीले तानेपछिको त्यो चुरोटको सुवास
निकोटिनमा तिम्रा ओठको माधुर्यता मिसिएपछि
कि बनेको हुनुपर्छ अफिमको जस्तो नशालु धूवाँ
र त उक्लेथेँ ढेड घन्टे उकालो एकचोटि नबिसाइ
निर्मल पानीमा तिम्रो सासको घटघट आवाज घोलिएपछि
कि बनेको हुनुपर्छ कुनै मीठो सर्बत
या बनेको हुनुपर्छ पञ्चामृत
र त पुगेथेँ घरको पिँढीसम्म अर्कोचोटि पानी नखाई ।
आहा ! त्यो स्फुर्ती
फलाम बिसाएर फूल बोकि हिँडे जस्तो !
वायुको बुइ चढेर आकासगङ्गा उक्ले जस्तो !

गाली गर्छु बारम्बार यो ढाक्रेको मुर्खतालाई
हतारमा न नाम सोधेछु
न गाम सोधेछु !
न पुग्ने ठाम सोधेछु !

sagarmani mobile size

क्षणभरको त्यो बसाई
एक धर्को बोलाई
एक निमेष हेराई
मानौ जनम जनमको चिनारी जस्तो !
कतै सुने सुनेको आवाज जस्तो !
कतै चिने चिनेको आभास जस्तो !
कतै छोए छोएको निस्वास जस्तो !

कहिलेकाहीँ गाली गर्न मन लाग्छ यो संयोगलाई
भेट नगराओस् समयले कसैसँग
जिन्दगीको बिसौनीमा
निमेषमै मन साटिने गरी
आवेगमै मुटु काटिने गरी
बेहोसीमै मान्छे लाटिने गरी
अन्ततः
बाँकी जीवन नै उदेक लाग्ने गरी

 

प्रतिक्रिया
Loading...