१.
म दु:खहरू लेख्छु कथामा बसेर।
तिमी अभिनय गर्नु पर्दामा बसेर।

म ओठमा खुशी ल्याउन खोज्दैछु,
आँसुले विद्रोह गर्छ आँखामा बसेर।

तिमी भगवान हौ, शिरमा बस्नुपर्छ,
पछुतो हुन्न जुत्तालाई खुट्टामा बसेर।

मेरो घर मलाई कहिल्यै घर लागेन,
मन्दिर लाग्छ, सँगै बाआमा बसेर।

मझधारमा छ जिन्दगी के बताऊँ,
कोही पर्खिरहेछ किनारामा बसेर।

गुँड छोडेर माउ आहारको खोजीमा,
मुख बाउँछन् बचेरा हाँगामा बसेर।

नबोले नि बोलाउनु मेरो तस्बिरलाई,
हेरिरहनेछ तिमीलाई भित्तामा बसेर।

तिमी दिलमा बसेर किन खुशी छैनौ?
गुलाफ बरू खुशी छ काँडामा बसेर।

म मसी बनेर कलममा बसिदिन्छु,
तिमी अक्षर बन्नु पानामा बसेर।

घरि आभास दिन्छौ घरि पराइ बन्छौ,
रुख काटे जस्तै भयो टुप्पामा बसेर।

२.
दुख्दा मुटु, छुट्दा प्यार किन रुनुहुन्छ
बनिहाल्छ जिउने आधार किन रुनुहुन्छ

कसैलाई सही तपाईं कसैलाई गलत
मान्छेपिच्छे हुन्छ विचार किन रुनुहुन्छ

आँसु पुछ्नु मुस्कुराउनु हुन्छ बरू नाफा
घाटा हो यो आँसु व्यापार किन रुनुहुन्छ

पानी पनि बग्दै जान्छ गन्तव्य खोजेर
बुझाउनु मन हेरी किनार किन रुनुहुन्छ

सबक सिकाउँछ बरू बाँकी जिन्दगीमा
अन्तिम बिन्दु होइन हार किन रुनुहुन्छ

झुठो बात लाग्दा पनि सहिदिनुस् तपाईं
पक्कै हुन्छ झुठो चिरफार किन रुनुहुन्छ

३.
यो समय यस्तो छ विचार गर्नुपर्छ।
सत्यसँग झुटको व्यापार गर्नुपर्छ।

सोच्नलाई छुट छैन कुनै पनि कुरा,
निर्णय गर्दा नि सधैं हतार गर्नुपर्छ।

जसले दिलमा बसेर पीडा दिइरहन्छ,
जिन्दगीभर उसैलाई प्यार गर्नुपर्छ।

बनावटी दुनियाँले बहुत पीडा दियो,
भ्रम छर्न फेरि किन श्रृङ्गार गर्नुपर्छ?

टुङ्गो छैन जिन्दगीको के घमण्ड गर्नु,
प्वाल परेको डुङ्गामा सवार गर्नुपर्छ।

४.
दुख्ने मन छ आफैं दुख्छ दुखाउनु पर्दैन
पीडा थप्न फेरि कोही नजिक आउनु पर्दैन

बजारमा खेलौना देखेपछि पुग्छ बच्चालाई
कसैले पिट्नु पर्दैन उसलाई रुवाउनु पर्दैन

समय एकनास हुँदैन,सबैको पालो आउँछ
कोही दु:खमा पर्दाखेरि कोही रमाउनु पर्दैन

म भीरफूल हुँ भीरमै सुहाउँछु घमण्ड गर्दिनँ
सुगन्ध छर्छु, कसैले शिरमा सजाउनु पर्दैन

फर्किएर मेरो ठेगाना सोध्दै आउला कोही
बाटो देखाएर मेरो घरसम्म पठाउनु पर्दैन

५.
तिमी साथमा नहुँदा जाँगर लाग्दैन।
मलाई आफ्नै घर पनि घर लाग्दैन।

कपास जस्तो मुटु चट्टान भइसक्यो,
अचेल मलाइ तुफानको डर लाग्दैन।

तबमात्र मज्जा आउँछ काँडा टेक्नुमा,
तिमी बिना सफर पनि सफर लाग्दैन।

मायाको होचो दैलो मैले भत्काइदिएँ,
हिजो आज शिरलाई ठक्कर लाग्दैन।

आइरहन्छ, गइरहन्छ यस्तै त हो नि,
बतास जस्तो दुनियाँको भर लाग्दैन।

अदिती अर्याल ज्ञवाली
कुलेश्वर-१४, काठमाडौं