शारदा ज्ञवाली

मेरो कार्यस्थल र बासस्थल बीचमा उभिएर
बताइरहेछ हरेक घटना सबुत दिएर
उहिले, निरङ्कुशता निमोठ्ने जब प्रण भयो
वक्षस्थलमा वीरको प्राण हरण भयो
प्रण र हरणको टकरावले प्रजातन्त्र अंकुरण भयो
तन्त्रहरूको ढाल बनेका सैयौंको मृत्युवरण भयो
सपुतको त्यागप्रति आज खै कसको ध्यानाकर्षण भयो ?
सम्मान त केवल वृक्षको फेदमा मूर्तिको माल्यार्पणमा रह्यो ।

देख्छु, बिहानी सिरेटोमा सधैँ दायाँतिर उभिएको
पात पातमा सचित्र सिंगो इतिहास कोरिएको
उसले, धेरै देख्यो तर गनेन देहबाट शीर छुटेको
टाल्न पनि सकेन रक्तधारा मूल फुटेको
जोड्न सकेन रङ्गिएका सिउँदोको सिन्दुर टुटेको
अनि रोक्न सकेन कोख र काखका सन्तति लुटेको
हेर्दै गयो स्वार्थप्रेरित दुई ध्रुव एक भै जुटेको
शक्ति र सत्ताका खातिर आफन्तको ढिक्का फुटेको
सोच्छु, त्यो साक्षी जिउँदो इतिहासले अझै पनि
जुट्ने, छुट्ने र फुट्ने घडीका तीन सुई घुमाइरहेछ
हार जीत जसको भए पनि आफ्नै वंश गुमाइरहेछ ।

देख्छु, बायाँतिर बेलुका शितलता छरिएको
आयु सकिएला देखेन उसले समृद्धि भरिएको
सोच्छु, मृत्युदण्डको साक्षी रागले अझै पोलिरहेको छ कि
अतितको मूल्य बिर्सने वर्तमानसँग ज्वाला बलिरहेको छ कि
मैलो राजनीति देखेर मानसपटल गिजोलिरहेको छ कि
लुछाचुँडी देख्दा मातृभूमिको कतै पिरोलिरहेको छ कि
दिव्यदृष्टिले अझै अनिश्चित भविष्य पो छिचोलिरहेको छ कि
बुढो वृक्षको टुप्पोले क्षितिजपारि पक्कै समृद्धि प्रगेलिरहेको छ कि

बिहान होस् वा बेलुकी
म बटुवा उसको फेददेखि टुप्पोसम्म हेर्छु र सोच्छु
यो उसको तपस्या हो कि आत्मरक्षा ?
जसले बसन्तको पर्खाइमा आँधीवेहरी, झरी र खडेरी खपिरहेछ
एकै भेषमा कर्तव्यको कत्ति पनि शेष नराखेर
जन्मभूमिको सुरक्षित र सुखद् भविष्य जपिरहेछ
हरदिन म टेकु पचलीको त्यो वृक्ष देख्छु
जो बुढ्यौलीको प्रवाह नगरी चौबाटोमा उभिएर
आउने जानेलाई इतिहास स्मरण गराइरहेछ ।

लाग्छ, उसले खबरदारी गरिरहेछ,
मुलुकको रखवारी गरिरहेछ
म सम्मानले शिर निहुराउँछु र आफ्नै गतिमा चलिरहन्छु ।

बाँझकटेरी, गुल्मी
हालः चन्द्रागिरी, १५ काठमाडौं