यकिना अगाध
ऊ
भोको थियो
नाङ्गो थियो
अरुजस्तै
पेटभरि खान चाहन्थ्यो
एकसरो आङ ढाक्न चाहन्थ्यो ।
ऊसँग
कपी किन्ने पैसा थिएन
स्कूल जाने फि थिएन
अरुजस्तै
कपी कलम चेपेर
स्कूल जान चाहन्थ्यो ।
ऊ
एकबारको अमूल्य जुनी
धामी झाँक्रीको
फू मन्तरमा होइन
अरुजस्तै
डाक्टरलाई नाडी छमाएर
बाँच्न चाहन्थ्यो ।
बस् !
बस्… !!
यत्ति नै हो
ऊसँग भएको
रंगीन सपनाहरू… ।
नेताजीले
एकदिन झण्डा थमायो र भन्यो–
‘साथी !
यो झण्डा नै
तपाईंको गन्तव्यमा पुग्ने अन्तिम बाटा हुन् ।’
ऊ
त्यस दिनदेखि
झण्डा फरफराएर
जुलुसको अघिअघि हिँड्यो
भोक हडतालमा बस्यो
कहिले
किसानको माग लिएर
कहिले
मजदुरको माग लिएर
कहिले
विद्यार्थीको माग लिएर ।
ऊ
सत्तासँग जुध्यो
सत्ताको सेनासँग लड्यो
पुलिस प्रशासनसँग जुध्यो/जुधिरह्यो
कहिल्यै
हार मानेन/थकान मानेन
जुध्दाजुध्दै
जुलुसमा झण्डा बोकिरहने मान्छे
ऊ,
मर्यो ।
अफशोच !
ऊ मर्दा
उसले जिन्दगीभरि बोकेको झण्डा
न जिउँदोभरि
एकसरो आङ ढाक्ने कपडा बन्यो
न मरेपछि नै
लास छोप्ने कात्रो बन्यो
जुलुसमा
उसको वरिपरि झुम्मिने त्यो विशाल भिड
न मलामी बनेरै उभियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।