राधिका कल्पित

दुईजोर खुट्टा पानीमा चोपलेर काउकुतीले हाँस्दै गर्ने
त्यो पोखरीका माछाका माउहरूले सोध्दै थिए
खोइ नि तिम्रा भन्दा अलि ठूला एकजोर पैताला ?

घामलाई छड्के पारेर उभिएको मजस्तै देखिने पानीछायाँले सोध्यो
खोई नि तिम्रो छायाँसँग हातेमालो गर्दै हिँड्ने त्यो अर्को छायाँ?

त्यही बाटो भएर हिँड्दै गर्दा
उहिल्यै जोडी नछुटोस् भनी बाँसमा बानेको डोरो सम्सुमाउँदै थिएँ
डोरोले सोध्यो
खोई नि यो धागोसँग गाँठो परेको अर्को आधा डोरो?

तिम्रा याद र पर्खाइको थकानले थकित बटुवा झैँ
सुस्ताउँदे चौतारोमा के बसेथेँ
पिपल र वरले एकै स्वरमा भने
खोइ नि हामीमा आडेस लागेर तिमीलाई आडेस दिने त्यो तिम्रो साथी?

एक अर्कालाई छल्दै भाग्ने त्यो गौँडाको बूढो केतुकेले सोध्यो
खोई नि तिम्रो नाममा प्लस गरेर आफ्नो नाम जोड्दै हिँड्ने त्यो नामवाला मान्छे?

हामी भञ्ज्याङमा बनाएका ढुङ्गाका घरका भग्नावशेषले
भुइँबाट टाउको उठाउँदै सोधे
खोई नि तिम्रा हत्केलासँगै जोडिएर आउने अर्को जोर हत्केला?

तिमी र म हिँड्ने बाटो माथिको बादलले सोध्यो
खोई नि तिमी सँगसँगै छाता ओडेर आफू भिज्दै तिमीलाई ओताएर हिँड्ने मान्छे?

खोला किनारको बालुवामा हामीले चोर औँलाको कलमले
बालुवामाथि लेखेका कथाका पात्रहरूले सोध्दैथिए
खोई नि हामीलाई कथामा भित्र्याउने तिमीलाई औधीमाया गर्ने त्यो मान्छे?

तिमी बाटो फेरेर कताकता पुग्यौँ
तिमीले छाडेर गएका यी पैतालाका डोबहरूले
सोध्दैछन्
कहिले आउँछ भन्दिम् ?
तिमीले साक्षी राखेको देउरालीको मुर्तिले सोध्दै थियो
कहिले आउँछ भन्दिम् ?
मैबाट मैलाई चुँडेर चङ्गाझैँ उडेको ए निठुर मान्छे !

भन न, यी सबलाई के खबर भन्दिम् ?