नारायण भट्टराई

नारायण भट्टराई

त्यही कालो पुरानो गोबर लतपतिएको कोट
आगोको झिल्कोले बनाएको आँखीझ्यालभित्र
टल्किएको धुलोमय सेतो कपाल
देखिने उनीको टोपी
एक दशकअगाडि
दशैँका टीकाका दिन दिनभर
बस्तुलाई घाँसपानी गरेर
मुखिया बालाई दशैँ मनाउने छुट्टी दिएबापत
बक्सिस पाएको
वर्षौंको हिलो, धुलो र मैलोले खाएर
बाढी, पहिरो र पसिनाको प्रहार झेल्दाझेल्दै
समयको प्रहारले आधी भएको
जीर्ण सुरुवालको माथिपट्टिको भागले
लाज ढाकेका मेरा मंगले दाजु
आज सपनामा आए अनि भने भाइ
गाउँमा गयौ भने मेरो छोरालाई भनिदेऊ
पहाड फोरेर खाऊ तर मुखियाले दिएको कोट
कहिल्यै नलाऊ !

 

(इलाम नेपालमा जन्मेर हाल अल्बानी क्यालिफोर्नियामा बसोबास गर्ने नारायण भट्टराई स्कुले जीवनदेखि नै साहित्य सिर्जनामा सक्रिय छन्। उनी “यशोभानु साहित्य तथा संगीत प्रतिष्ठान” संस्थापक हुन्। उक्त संस्थाको नामबाट उनी नेपाली साहित्य र संगीतको सेवामा सक्रिय छन्। उनका दुई वटा गीत र म्युजिक भिडियो सार्वजनिक भएका छन्। हाल उनी इलामे सर्जकहरूलाई समेटेर “सिर्जनाको क्यानभासमा इलाम” नामको कविता, गीत र गजल संग्रह प्रकाशन गर्ने कार्यमा लागेका छन्। उनका लेख-रचना विभिन्न नेपाली र अंग्रेजी पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन्।)