बाछिटा लघुत्तम काव्यिक उपविधा हो। यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ।
जीवन, जगत् र भोगाइका अनन्त चेतना,चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप,दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ।
बाछिटा रचना तीन पाँच तीन अक्षरयुक्त तीन पंक्तिमा गरिन्छ।बाछिटाको पहिलो पंक्तिले विषयवस्तुको उठान गर्नुपर्छ।
बाछिटाको दोस्रो पंक्तिले विषयवस्तुलाई विस्तार गर्दै उत्कर्षमा पऱ्याउनुपर्छ।बाछिटाको तेस्रो पंक्तिले विषयवस्तुको पुष्टि गर्दै मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्छ।
बाछिटाको तीन पंक्तिबीच भाव र अर्थगत सामन्जस्यता हुनैपर्छ।बाछिटाको अक्षर संरचना वा गणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्छ।बाछिटाको प्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्छ।बाछिटाको अभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्छ।बाछिटा रचना गर्दा निपात र संयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिन्छ।बाछिटाकारले समाजमा परम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडि पछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य मानिन्छ।
बाछिटा लेखनमा उल्लेखित मान्यताको सर्वोपरि महत्व रहेको छ। तीन पाँच तीन अक्षर मिल्दैमा बाछिटा हुँदैन, त्यसमा प्रकृति बिम्ब र प्रतीकात्मक प्रस्तुति हुनैपर्छ।
बाछिटा काव्यिक उपविधा हो। यसको लेखन सहज पनि छ र असहज पनि छ।बिम्ब के हो ? प्रतीक के हो ? वा लक्षणा र व्यञ्जना शब्दशक्ति के हो ? लेखनमा यसको प्रयोग कसरी गर्नसकिन्छ ? भन्ने कुराको गहन अध्ययनबाट स्पष्ट भएर बाछिटा रचना गर्दा यसको लेखन सहज बन्नसक्छ। साथै मानव जीवन र मानव जीवनका सम्पूर्ण क्रियाकलापहरूलाई
प्रकृतिकरण गरेर वा प्रकृतिजन्य सम्पूर्ण क्रियाकलापहरूलाई मानवीकरण गरेर अर्थात् प्रकृतिका विविध स्वरूपलाई जीवन भोगाइका विभिन्न पक्षसँग वा जीवन भोगाइका विभिन्न पक्षलाई प्रकृतिका विविध स्वरूपसँग दाँजेर वा तुलना गरेर बाछिटा रचना गर्दा प्रकृतिबिम्बको उपस्थिति पनि देखिन्छ र प्रतीकात्मक पनि बन्छ वा बाछिटा लेखन सहज बन्छ।
बाछिटाको काव्यिक उपविधाको रूपमा २०७७ साल जेठ २ गते सर्जक खगेन्द्र बस्यालको साथ र समर्थनमा बाछिटा काव्यिक उपविधाका परिकल्पनाकार अमर त्यागीले सिद्धान्त निर्माणसहित प्रवर्तन गरेका हुन्। प्रवर्तनको छोटो समयमै अनेकौं अग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिदै आएको छ।अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् । साहित्य पोस्टको “बाछिटा प्रकाशनमाला-२३ मा चन्द्रावती अधिकारी,सुभद्रा अधिकारी, सावित्री अधिकारी, पुष्पा सायरा र सुषमा आचार्य अंशुका पाँच दर्जन बाछिटाहरू प्रस्तुत गरिएका छन्।यसपछि अन्य सर्जकहरूका बाछिटाहरू क्रमश: प्रस्तुत गरिने छन्।सय शृङ्खला पुगेपछि सबै बाछिटाहरू सङ्कलित “समकालीन नेपाली बाछिटा” नामको बृहद् कृति प्रकाशन गर्ने उद्देश्यका साथ बाछिटा प्रकाशनमाला आरम्भ गरिएको हो।

पाँच दर्जन बाछिटा

१. चन्द्रावती अधिकारी

चाँदनी
रात संसारी
जीवनी

हर्षित
असारे श्रम
वर्षित

सुधामा
छहारी कृष्ण
हुँदामा

देशमा
स्याल नेताको
भेषमा

सुन्दै छु
सुखको धुन
बुन्दै छु

चिसोमो
यौवन तातो
मेसोमा

माया छ
सुख शीतल
छायाँ छ

चौतारी
छायाँ प्रेमिल
दौंतरी

फुलेको
जवानी अन्त्य
भुलेको

बाँचेको
आयुको शोभा
साँचेको

नमन
दुर्भाव हुरी
समन

चाँदको
नगर मिचो
साँधको

~~<>~~

 

२. सुभद्रा अधिकारी

सौन्दर्य
वसन्त प्रीत
माधुर्य

लेखन
नवीन शिल्प
लेपन

सद्गुण
वासन्ती पुष्प
सुवास

हलक्क
बैंसालु फूल
गमक्क

जुहार
चाँदनी रूप
मुहार

नारीमा
सभ्यता छवि
सारीमा

जिन्दगी
हर्ष तापमा
बन्दकी

मुस्कान
खुसीको घाम
निशान

पहाड
अभाव सुखा
उजाड

व्यथित
जीवनगति
थकित

लिलाम
स्वत्व रात्रीमा
मिलान

नशाको
लत जीवन
निशाको

~~<>~~

३. सावित्री अधिकारी

धरामा
पसिना बीज
गरामा

स्वदेश
सुरम्य स्वर्ग
विशेष

आँखामा
सपना फूल
पाखामा

प्रकृति
सृष्टिको रम्य
आकृति

देशको
सौरभ सभ्य
भेषको

सपना
उज्यालो पार्ने
चाहना

सक्रिय
मनमा अल्छी
निष्क्रिय

रातको
कालो कुतर्क
बातको

मातृत्व
मायावी मेल
भातृत्व

पितृत्व
छहारी उच्च
मातृत्व

माथमा
स्नेह छहारी
साथमा

नारीत्व
अटल स्वच्छ
अस्तित्व

~~<>~~

४. पुष्पा सायरा

आमाको
स्मृति छहारी
मायाको

ईश्वर
बाआमा दिव्य
भास्वर

दिलमा
गुराँस नारी
शीलमा

उनको
सद्भाव शोभा
जूनको

आगत
उर्वर कर्म
तागत

उनीको
आदर्श प्रेम
जुनीको

आखाँको
शोभा हरियो
पाखाको

पढेको
कथाको काँडा
गढेको

गाजले
आँखा धपक्क
लाजले

जीवन
रूखको फल
जोवन

कल्पना
सलल बग्ने
सपना

स्वदेश
सर्वोच्च आस्था
अशेष

~~<>~~

५. सुषमा अंशु

तिहार
मनमा खुसी
बहार

पर्वको
संस्कार शोभा
गर्वको

आँखाको
सुखसौन्दर्य
पाखामा

फूलको
काँडा दुश्सोच
भूलको

सजीव
कला हुँदैन
निर्जीव

कर्मको
चैतन्यछवि
मर्मको

वनको
सुन्गाभा खुसी
मनको

उमङ्ग
मनमा उठ्ने
तरङ्ग

सपना
बिम्झना झल्को
बिपना

अदम्य
प्रेमिल रश्मि
सौजन्य

बकस
कर्कश धुन
सकस

चल्कन्छ
जुनेली चेत
झल्कन्छ

~~<>~~