

हिजो उनले नै हो
सामन्ती व्यवहारमाथि
औंला उठाएको
समानता र समावेशीताका नाराले
सडक तताएको
त्यही बुलन्द आवाजले हो
निरंकुशताको कुर्सी ढालेको
त्यही हूलभित्रको एउटा आवाज हो
सूर्यबहादुर
त्यही जनलहर भित्रको एउटा पाइला हो
नवराज
आज त्यही
नाराको आशाको त्यान्द्रोमै अल्झिएर
राज्यको गैर जिम्मेवारीसँग लड्दा लड्दै
सडक मै
नाम्लो कै साथमा
मरिरहेछन् सूर्यबहादुर
नारा मै सीमित
सामानताको विश्वासमा परि
प्रेममा परेकै भरमा
गैर दलितको शिकार भइरहेछन् नवराज ।
र
मृत्युपश्चात् पनि
मृत आत्मामा एउटा प्रश्न उब्जिरहेछ
समानता र न्यायका लागि हाम्रो
बुलन्द आवाज र पाइलाको बलिदानी अन्तिम मूल्य
के मृत्यु नै हो त ?



