मात्र झझल्को तिम्रो
आउँछ आँखाभरी आँसु बनेर
तिमीसँग बिताएका ती पलहरू
लाग्छ फेरी फर्केर आए हुन्थ्यो
तर रोकिएन पृथ्वी
समय किन रोकिन्थो र ?
सम्झन्छु विगत
र फेरि बनाउँछु आलो घाऊ
दुखाइको अनुभूति हुन्छ
अनि बन्छ पीडाको पिरामिड
अहँ बिर्सन सक्दिनँ
आफ्नै आँखा अगाडि तिमी ढलेको त्यो दृश्य
आज भित्तामा
सीमित छ तिम्रो तस्बिर
बोलाउन खोज्छु
तिमी बोल्दिनौ
छुन्छु यी हातहरूले
मुटु नै फुट्ला जस्तो गाँठो परेर आउँछ
तिम्रा ती निर्दोष आँखाहरूले
एक टक मलाई नै हेरिरहे झैँ लाग्छ
यतिका बर्ष तिमी मसँग छैनौ र पनि
मैसँग भए जस्तो लाग्छ
आखिर किन
मेरी प्यारी हजुरआमा ?