आशिक छेत्री (दार्जीलिङ)

कहिले त ऑखा चिमलिए

पुग्दो रहेछ

नदेखेको देख्नलाई

कविता लेख्नलाई

थुप्रै विचार / भावनाहरू

आउँछ, जान्छ

भावनाहरू फूलको बुट्टा जस्तै हुनु पर्दैन

भावना जस्तै भए पुग्छ

कविताको परिभाषा भित्र

अटाउन पर्छ भन्ने पनि छैन

कसैको ह्रदय भित्र अटाए पुग्छ

कविता कहिले घाम जस्तै झुल्किएर

मनमा नै अस्ताउँछ

कहिले फूलजस्तो फकरिएर

मनमै ओइलाउॅछ

कहिले बिहान सम्झन नसकेको

रातिको सपना जस्तै

मेरो कविता

कहिले लेखु भन्दा भन्दै

विचारको द्वन्द्वहरूमा हराएको

मेरो कविता

विचारहरू त महाकाव्य

लेख्न पुग्ने

तर समय

दुई शब्द कोर्न नभ्याउने

यति धेरै विचारहरू

यति धेरै भावनाहरू

रेकर्ड गरिराख्नु

लेखि राख्नु

कहा भ्याउनु र !

भ्याएको दिन

एउटा संग्रह निकाल्छु ।।