साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

म अपराधी

कविता

 

मिम बहादुर परियार

मेरा हजारौं दाजुभाइ मारिए
हजारौं हजार चेलीबेटीकाे अस्मिता लुटियाे
बूढा आमा-बा अपहेलित भए
दिनहुँ पीडा पिएर, अपमान सहेर, गालीगलाेज पचाएर
मेरा मान्छे दिउँसै अन्धकारमा बस्न विवश भए
म अपराधी निर्लज्ज हेरिरहेँ ।

bahulako diary small and inside post

मेरा दाजुभाइकाे हिँड्ने बाटाे छेकियाे
पिउने पानी राेकियाे
खाने राेटी लुटियाे, बस्ने बाँस खाेसियाे
लास जलाउने चिहान सारियाे
म अपराधी टाेलाएर हेरिरहेँ ।

सामाजिक स्वतन्त्रता हनन भयो
म बाेलिनँ, अचलायमान छु
आत्मसम्मान के हाे त्यो नसाेध
समानता के हाे, साेध्ने काम बन्द गर
माया प्रेम के हाे त्यो पनि नसाेध
यी प्रश्नका उत्तर खाेज्दा मेरा मान्छे मारिए
कुटिए, दमन गरियो, दबाइयाे र जलाइयाे
म अपराधी देखेर पनि बसिरहेँ ।

कतिकाे अवस्था अज्ञात छ
कतिकाे मृत्यु सूची तयार हुँदैछ
कतिमाथि जालझेल बुनिँदैछन्
कति चिहान जाँदैछन्
कति अस्पतालका शय्यामा छन्
कति झूटा मुद्दामा जेलमा सडेका छन्
म अपराधी थाहा पाएर पनि सुतिरहेँ ।

नवराज बिक

मैले जेहाद छेडिनँ
फतवा जारी गरिनँ
आफ्नै ठानेर, पीर मान्लान् भनेर
तर मलाई उनीहरूले कहिल्यै आफ्नाे ठानेनन्
बरु कमजोर ठानेछन्
निरीह सम्झेछन्
म अपराधी आफ्नै सम्झेर हात बढाइरहेँ ।

म अबुझले कहिल्यै बुझिनँ
सत्तामा पुगेका मेरा आफ्नाले पनि सम्झिएनन्
समाजिक भाइचारा भाँडिएला भनेर बुझ पचाइ बसेँ
समस्या पर्ला भनेर पीर पिएँ तर बाेलिनँ
तर उनीहरूले गनीगनी, छानीछानी मेरा मान्छे मार्दै छन्
मजस्ता लाखौँलाख अपराधी मूकदर्शक बनेका छाैँ ।

मजस्ताकाे के काम !
रमिता हर्ने धेरै छन्
श्रद्धाञ्जली अर्पण गर्ने थुप्रै छन्
बरु जा सरकारसँग मृत्युु माग
कठपुतलीकाे अस्तित्व हुँदैन
म जस्ता अपराधी झुन्डकाे जीवित सासकाे केही काम छैन ।

सरकार ! मेरो नागरिकता जलाइदे
मेरो कागजपत्र च्यातिदे
त्यसको के काम?
मलाई जिउँदै मृत्युदर्ता दे ।

प्रतिक्रिया
Loading...