कमान सिं तामाङ
१.
दु:ख बढार्दा खरेटोमा तिमीलाई सम्झन्छु
जिन्दगीको गोरेटोमा तिमीलाई सम्झन्छु
सायद मैले जस्तै माया गर्थ्यौ र त होला
शिशिरको सिरेटोमा तिमीलाई सम्झन्छु।
२.
समीपमा तिमी थियौ जुनेली रात थियो
तरङ्गित दुई मनको प्रेमिल बात थियो
पहिलो पहिलो प्रेममा सायद यस्तै हुन्छ कि
स्पर्शमा स्वर्ग बिर्साउने मायालु हात थियो
३.
मुटु पनि कहिलेकाहीँ मीठो गरी दुख्थ्यो
बग्दा बग्दा परेलीको पानी पनि सुक्थ्यो
धेरै त के चाहिन्थ्यो र यो पागलप्रेमीलाई
बेलाबखत मायालुले सम्झिदिए पुग्थ्यो ।
४.
कोही आयो जिन्दगीमा रङ्ग फेरियो
जीवन जिउने कला अनि ढङ्ग फेरियो
जर्जर यो जिन्दगीमा वसन्त आइपुग्दा
बिग्रेको प्रेमकथाको प्रसङ्ग फेरियो ।
५.
हल्का जुँगा आयो हल्का दारी आयो
ज्यानमा तागतसँगै मनमा भारी आयो
दु:खमै हुर्केको गाउँले छोरो थिएँ म
किशोरवयमै काँधमा जिम्मेवारी आयो
६.
समय र धनको नाश, हात लाग्यो शुन्य
योग्यता डिग्री पास, हात लाग्यो शुन्य
न सीप छ हातमा न ठाउँमा मान्छे छन्
बेकारको आशै आश, हात लाग्यो शून्य ।
(सुनापती गाउँपालिका-४, बेथान, रामेछाप । श्री कुशेश्वर माध्यमिक विद्यालय, बेथान, रामेछापमा प्रधानाध्यापकको रुपमा कार्यरत ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।