स्वार्थले उजाडेका
मनका अँध्यारा बस्तीहरू
झलमल्ल हुने गरी, आऊ हामी दिव्य चेतनाले
एउटा महान् कथा लेखौँ ।

भोक, रोग र गरिबीले
उजाडिएका सिउँदोहरूका विवश कथा लेखौँ
लाचार बुढेसकालका सहाराविहीन वृद्ध कथा लेखौँ
कलिला मनका सपनाहरूको वेवारिसे शिशु कथा लेखौँ ।

लेखौँ हामी –
दीनदुःखीका भोका पेटका ज्वालामुखीका कथा लेखौँ
मृत्यका आँसुले निथ्रुक्क भिजेका जीवनका कथा लेखौँ
लेखौ न !
एउटा विश्वासको कथा लेखौँ !
प्रेमको मसीले कहिल्यै नमेटिने गरी लेखौँ
आत्मियताको गहिराईमा चुर्लुम्म हुने गरी लेखौँ
सद्भावको सगरमाथाभन्दा पनि अग्लो कथा लेखौँ ।
आउ हामी मिलेर अब
मानवताको फराकिलो क्षितिजको नवीन कथा लेखौँ ।
लेखौ हामी
विभेदका बलिया जंजिरहरू चुँडिने गरी लेखौँ
दम्भ र स्वार्थका पर्खालहरू भत्किने गरी लेखौँ
अनन्तकालसम्म
प्रेमका सुनाखरी र लालुपातेहरू फुलिरहने गरी लेखौँ
कन्चन हृदयका सुमधुर धुनहरू गुन्जिई रहने गरी लेखौँ
आऊ हामी अब फेरि कहिल्यै
नारीहरूले अग्निपरीक्षा दिन नपर्ने गरी लेखौँ
पुरुषहरूले पनि वनवास जान नपर्ने गरी लेखौँ
लेखौँ हामी,
मेलमिलाप, शान्ति र सहिष्णुताको बलियो कथा लेखौँ
न्याय, समानता र विश्वासको एउटा आत्मीय कथा लेखौँ
लेखौँ अब तिमी र म
भातृत्व, विकास र स्थायित्वको एउटा नवीन कथा लेखौँ
आऊ हामी एउटा महान् कथा
डाँफे मुनाल, लालीगुराँस र सगरमाथाको लेखौँ ।