मेरो शान्त सरोवर छातीमा
छप्लाङ्ग छुपलुङ्ग गर्दै माछा मार्नी
मछुवार्नी ए मछुवार्नी ?
तिम्रो हातमा के छ ?
माछा मार्नी सायर, घौंका, जाल
अनि कम्मरमा के बाँधेकी छौ त ?
डेली ?
झोरी ?
के राख्छौ त्यहाँ ?
माछा, घोंङ्ही, गंगटा, सितुहा हैन त
बडेर, परवर, ख्वाँटा, निउरो हैन त
माछा मार्न जानी
त्यो तिम्रो ढुंग्रे, राप्ती र नारायणी खोइ त ?
त्यसको शिरानको जंगल खोइ त ?
जहाँ तिमी डुली डुली निर्धक्क !
डेली भरी माछा मार्थ्यौ
झोरी भरी सागपात टिप्थ्यौ
एक बोझा दाउरा ल्याउँथ्यौ
वर्षको एक पटक आउने चाडपर्व नै कुर्नु पर्दैन्थ्यो तिमीले
त्यो दिन,
खिचराको (माघी) अघिल्लो दिन जस्तै तिम्रो घरमा
चिचरसँग माछाको मीठो झोल पाक्थ्यो
घोंङ्हीको लदबदसँग ढिक्री, नक्कगर रोटी बन्थ्यो
बडेरको चोखा, ख्वाँटाको टुसा पाक्थ्यो
घरपाला मोदसँग (दारु) कक्हराको (गंगटा) चोखाको सिट्न बन्थ्यो
छरछिमकमा पहुरा बन्थ्यो तिम्रो भान्छाको तिहुन
लालाबाला फरर्याक्क र फुरुक्क
खुशीको विनिमय र सञ्चार हुन्थ्यो
यी सबको एक्लो वृहस्पति हुँ म
म तिम्रो जीवनशैली
म जहाँ बगिरहेछु
तिम्रो इतिहास लिएर बगिरहेको छु
आदिम कालदेखि
तिम्रो कला, धर्म, संस्कृति, रीतिरिवाज लिएर निरन्तर बगिरहेको छु ।
तिम्रो आँगनमा जितिया आउँदा
गुरुत गुरुत (छमछम) पवनहरीहरूको झमटा नाच हेर्न म जोडजोडले उम्लिएको छु ।
मेरै जलेवामा गरग्वाङ पुज्न तिमी
काजल,सिन्दुर, सेतो अक्षता, मास, बेलपत्र र धूप, र जल चढाउथ्यौ
सूर्यदेवलाई दूधको अर्घ दिन्थ्यौ
म कसरी खुशीले कुलकुलाएर बग्थेँ ।
अनि प्रत्येक चाडमा मछुवारी गर्न मेरै ढापमा सोती मार्थ्यौ
फागुको रंग सेलाउन नदीमा,
ढोलक, तबला, हरमुनिया, झर्रा, ठेक्करा नाच्दै धुरहेरी खेल्थ्यौ ।
म साक्षी छु,
तिम्रो जीवनको हरेक रंग र लयसँग
कसरी जंगली जनावरले दुःख दिँदा
माचबाट हेर्थ्यौ तिम्रो बारीमा को आएछन् चर्न ?
उँका बालेर, टिन ठटाएरै भएपनि धपाउँथ्यौ
तिम्रो एक ललकारले कुलेलम ठोक्थ्यो ऊ
किनकि तिमीलाई थाहा थियो ।
जंगलमा जनावरको सौन्दर्य,
घरमा मान्छेको सौन्दर्य,
नदीमा पानीको सौन्दर्य,
एक बिना अर्को अपुरा-अधुरो अर्को बिना एक
आफू बाँच्नु छ त उसलाई जोगाउनु पर्छ ।
त्यसैले तिमी प्रत्येक साल ब्रह्मस्थानमा हरियरी बर्ना (पूजा) गर्थ्यौ ।
हे ! ब्रह्मस्थानी देउता,
बोट-बिरुवा, बालिनाली, जीव-जनावर, खेत-पत्थार, वनजंगल, मान्छे लगायतलाई
कुनै हानी नोक्सानी नहोस्, रोगव्याधी नलागोस् भनेर सुमरिन्थ्यौ देउतालाई
त्यसपछि झमटाको झंकार र ढोल पिपही बज्थ्यो
तीन दिन तीन रात गाउँमा सर्वमान्य उर्दी जारी हुन्थ्यो ।
खेतबारी, वनजंगल, नदी, छिमेकी गाउँ जान समेत कडिकडाउ बन्द
यस्तो कडिकडाउ बन्दाबन्दीले
माटो भित्रको सुवासित बीजले अँकुराउन पाउँथ्यो
धरतीले काँचुली फेरेर जीवन चलायमान हुन्थ्यो
तिमी पूर्ण प्राकृतिक थियौ
वफादार पाले, जोगाएर अरुलाई आफू बाँचिरहेका थियौ ।
किन हो ? तिम्रा पाइलाहरू मेरा छातीमा टेक्दैनन् अब
भिन्सहरुवाको गुन्जन हावाले बोकेर ल्याउँदैन अब
फर्सा पाक्यो ! फर्सा पाक्यो ! चरीले गाउँदा
तिमीहरू हूलका हूल ढकिया बोकी
बगरमा बयर, फर्सा, दँतरुगं टिप्न आउँदैनौ
माछरी मार्न र काठी लिन आउँदैनौ
कति छिटो सुदूरको अतीत बन्यौ ?
बरु, त्यो दिन बिर्सन सकेको छैन मैले
तिम्रा आदिवासीय संगीतले म मगमगाएको थिएँ
तिम्रा लोक संस्कृतिले म चहचहाएको थिएँ
खै, कहाँ गए तिम्रा ती ढोलक र मानरीका तालहरू ?
गोडाई र पैरीका थिरक्कनहरू ?
जसले जगाइरहन्थ्यो माघी, फगुवा, जितिया र सोहराई
अनवरत लेखिरहन्थ्यौ अलिखित इतिहासहरु
मुक्तिका दास्तानहरू
नामेट भूगोलका नामहरू
जसलाई तिमी आफ्नो भन्थ्यौ, आफ्नै भूमिमा कसरी पराया भयौ ?
मेरो आन,वान, शान भन्थ्यौ
मेरो पुर्खाको गौरवान्वित इतिहास भन्थ्यौ,
त्यो जल, जमिन, जंगल खोइ त ?
जहाँ तिमीसँग म निर्वाध बात मार्न सकूँ ।
सावित्री चौधरी
कुशुन्ती, ललितपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।