अशोक चाम्लिङ राई

अशोक चाम्लिङ राई

जीवन
सुन्दर लाग्छ भरियालाई
जब ऊ भारी बिसाँउछ र गाउन थाल्छ
“रातो रिबन…..क्या राम्रो छ हाउ हाम्रो जोबान”
सायद उस्ले दाज्यो होला जीवनलाई
देउरालीको शितल बताससँग ।

जीवन
दुखद् लाग्छ कुनै करोडपति पुत्रलाई
जब धोका दिन्छे उस्की प्रेमिकाले
र गाउँछ
आत्मघाती हंगेरियन गीत ‘ग्लुमी सन्डे’
“यो शरदमा पातहरू सबै झरे
धरतीमा प्रेमको अन्त भो…….. ”
विरक्तिपछिको निष्कर्ष
जीवनको अन्त ।

जीवन
केही अर्कै लाग्छ
कुनै खुंखार अपराधीलाई
जब जेलको चार भित्ताभित्र
बाइबलले भन्छ-
“म तिमीसँगै हुनेछु चाहे गल्ती गर जतिसुकै ।”
तब ऊ भित्रको मान्छेले भन्छ-
“गिभ मी एनोदर चान्स आइ वान्ट टू ग्रोअप वन्स एगेन” ।

पन्चानब्बे वर्षका जंगवीरलाई
बाँच्न मन छ अझै
तर अनयास आँसु बर्सन्छ उनको
जब टाढा टाढाका आफन्त आउँछन भेट्न
कि लाग्दो हो उनलाई त्यसबेला
ती मानिसहरू
उस्को जिन्दगीमा
अन्तिम पटक आएका
दर्शनार्थी हुन् ।

एक्लै खेलिरहेको बच्चा
चिच्याएर रून्छ
जब उस्को ठोकीन्छ टाउको पर्खालमा
सहारा नपाएपछि छोडिदिन्छ रुन
थाल्छ खेल्न त्यही ब्याट्री रोबर्टसित
सायद लाग्यो होला उस्लाई
रोबोट हुनेछ
उस्को असल साथी अब ।

हाल : न्युयोर्क