यो रातको बीचमा
झल्याँस्स ब्युझिएँ ।
झ्यालबाट चन्द्रमा चियाइरहेको रहेछ ।
चन्द्रमाको जूनसँग जिस्किएर बस्दा
मन एक तमासको भयो
एक ताका यही चन्द्रमाको जूनसँग
पढेको कुरा गर्दा
साथीहरूले जिब्रो टोकेका थिए
आज जूनसँग पढिनँ
तर मनको कुरा कराएर सुनाएँ ।
मलाई मेरो एकाङ्कीपन मेट्नु छ ।
यो मोडसम्म आइपुग्दा
भोगेको कथा व्यथा
अव्यक्त भावना साट्नु छ
यो भोगिरहेको वर्तमानलाई
बिट मार्दै
अर्को मोडको संघारमा
उभिएको म
दूर क्षितिजमा पर्खिबसेका
तिनै चिरपरिचित
दर्द, पीडा, सुस्केरा,
आँधीबेहरी ,घाम, पानी
लगायत यावत् यातना
झेल्न तयार पनि हुनु छ
अनि रित्तिनु पनि छ ।
मेरो मनले बारम्बार मसँग प्रश्न गर्छ ।
कत्ति तेरो कथा म मात्रै सुनौँ
कत्ति म मात्रै थुपारेर राखौँ
कोही त होस् कथा सुनिदिने
कोही त होस् भावना साटिदिने ?
यो मोडमा आइपुग्दा
मैले निर्धक्क
स्वीकार गर्नु नै छ
म एक्लो
नितान्त एक्लो जिउन चाहन्छु ।
मैले मेरो जीवनमा
अनेकौँ मोड र घुम्ती पार गरेँ ।
प्रत्येक घुम्तीमा
फरक फरक सहयात्री भेटेँ
ती दोहोरिएर आएनन्
र, मैले पनि डोर्याएर ल्याउन सकिनँ ।
म लाचार छु
र, म भाग्यमानी पनि छु
यस अर्थमा कि
प्रत्येक मोडमा
नयाँ साथी भेटिरहेँ ।
मैले ती सहयात्रीप्रति
आभार व्यक्त गर्नैपर्छ
जसले प्रत्येक मोडमा साथ दिए
र, मेरा कथा व्यथा सुनेर
मलाई हलुङ्गो पारिदिए ।
यतिबेला म
जूनसँग
सारा दर्द पीडा पोखिरहेको छु
मेरो चित्कार जूनसँग साटिँदै
यो कोठाको मेच टेबुल
छरिएका किताब अनि
भित्तालाई उछिन्दै
ध्वनि प्रतिध्वनि हुँदै
बाहिर छिमेकीसम्म पुगेछ ।
यो परदेश
बिरानो ठाउँमा
सुनसान रातमा
बन्द कोठामा
म गुन्गुनाएको सुनेर
छिमेकीहरूले भने
पागल भएछ कि क्या हो
बर्बराहट सुनिन्छ
कि बिरामी पर्यो
कि भुतप्रेतले छोयो
ढोका अघिल्तिर थुप्रिएको
भिडको जिज्ञासा मेटाउन
म बाहिर आउनै पर्यो ।
मैले भने
ठिकै छु
सपना देखेछु ।
तर मैले भनिनँ
जूनसँग बोलेका कुरा
जूनसँग साटेका व्यथा
एक्लो मनको अव्यक्त कथा ।
राजेन्द्र श्रेष्ठ
कागेश्वरी मनोहरा न पा १, ठूलाढिक
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।