आजको डुवर्स- १

दृश्य-१

बिलोक शर्मा

बिलोक शर्मा

“यो माटो हाम्रो हो
पुर्ख्यौली हो…
अनुप्रवेशकारी मुर्दावाद!”

प्रत्युत्तरमा-

“नङ-मासु झैँ बस्ने हामी
आज अनुप्रवेशकारी कसरी हँ?
भारतीय संविधान जिन्दावाद ।”

भिज्न सकेका छैनन्
भक्कानोका बाछिटाहरूले
बाझो जमीन ।
अर्थ रोप्न खोज्ने शब्दहरू
घामको उष्णताले
ओइलिन्छन् घरि-घरि….

दृश्य-२
धारा-उपधाराका प्रतिलिपि बोक्दै
अगुल्टोमा हिड्ने खुट्टाहरूका
भरमार छन् वरिपरि ।
घरमास्तिरको पुरानो आकासले
गिज्ज्याइ बस्छ
महिनैपछि जज्‌साहब अघि उँभिदै
हस्ताक्षर गर्ने हातहरूलाई-
अनि सोध्छ,
‘गान्धी को हुन् ’रे?’

बस्तुस्थिति बुझेर
परिस्थितिहरू च्याँखे थापिबस्छन् ।
बुलेटहरू रमाइरहेका हुन्छन्
तातो रगतसित सहवास गर्ने निहुँमा !!

दृश्य-३
ठोक्कर खाँदै भुतुक्क भएका
विचारहरूका जुलूस
लर्बरिँदै अघि बढ्छन्
प्राचीन ग्रन्थका धुलोहरू टक्‍टकाउन….

“ बाटो देखाउनेहरू गोप्य मिटिङमा छन् ’रे
‘सम्झौता एक्सप्रेस’ पट्‍रीमा आउँछ नै…”

सुकीसकेका हिउँदोका सयपत्रीमा
सौन्दर्य खोजीरहन्छ ऊ।
कलिला, नाङ्गा पाइतालाहरू
दगुर्दै आएर प्रश्न तेर्साउँछन्-
“बा! लक्-आउट् भनेको के हो?
आमाले भनेकी
आज भात पाक्दैन ’रे !!!”

 

-(कविता सङ्ग्रह ‘समयाभास’-बाट साभार)
(डुवर्स, भारत)

(डुवर्स क्षेत्र भन्नाले भारतको पश्चिम बङ्गाल राज्यअन्तर्गत टिस्टा नदीदेखि सुनकोश नदीसम्मको भुभागलाई बुझिन्छ, जुनचाँहि जलपाईगढी हनि अलिपुरद्वार जिल्लाभित्र पर्दछ। यहाँ बाक्लो संख्यामा नेपालीभाषीहरूको उपस्थिति पाइन्छ। यसक्षेत्रमा १५० भन्दा बढी चियाबगानहरू रहेका छन्, हजारौँ नेपाली परिवारहरू यी बगानहरूमा आश्रित छन्। तर धेरै बगानहरू कि त बन्ध छन्, नभए रूग्न अवस्थामा छन्। यस्तो परिस्थितिमा पनि यहाँ विगत ६५-७० वर्षदेखि यहाँका साहित्यकारहरू साहित्य सृजनामा होमिएका छन् एवम् वर्तमान समयमा धेरै साहित्यकारहरू सक्रियरूपमा आएर राम्रा-राम्रा कृतिहरू पाठकहरूलाई चढाइरहेका छन्।)