आफ्ना महत्वाकाङ्क्षा र सपनाको लागि
मेरो सौन्दर्य फाँडेर
मलाई टुक्राटुक्रामा बाँडेर
मेरो उर्वरतालाई बाँझो बनाई
गगनचुम्बी महल ठड्याएर
आफ्नो सपनाको खेती गर्ने तिमी
अनि कसरी भन्छौ मलाई कङ्क्रिट सहर भनेर ?

तिमीलाई आधुनिक भनाउन चाहिन्छ म
सम्पन्न र सुखी बनाउन चाहिन्छ म
तिमीलाई सफलताको रबाफ जमाउन चाहिन्छ म
साँच्चै नढाँटी भन्नुपर्दा
तिमीलाई
जिन्दगीमा विलासिताकासाथ रमाउन र
पैसाा र इज्जत कमाउन चाहिन्छ म ।

हो, म तिम्रो सपनाको सहर
यहीँ फुल्छन् तिम्रा अनेकौँ रहर
र मौलाउँदै जान्छन् तिम्रा योजनाहरू
गाँसिदै जान्छन् तिम्रा नयाँ सम्बन्धहरू
अनि बलिया जरा गाड्छौ तिमी
फैलाउँदै आफ्ना हाँगाहरू
र फेरि तिमी नै
कसरी भन्छौ मलाई मरुभूमि भनेर ?

वर्षौँ पहिले
म पनि तिमीभन्दा धेरै
सुकुमार र सुन्दर
कलात्मक र उर्वर
स्वच्छ र हराभरा थिएँ ।

आफू सुन्दर बनेर
मलाई कुरुप पार्ने तिमी
आफू सम्पन्न र सुखी बनेर
मलाई उजाड पार्ने तिमी
आफू सफलताका उन्मादमा रमेर
मलाई उदास पार्ने तिमी
इमानदार भएर सोच त
स्वार्थी र मतलबी को रहेछ ?
अनि फेरि
कसरी भन्न सक्छौ तिमी मलाई ?
प्रदूषित, कङ्क्रिट, मरुभूमि भनेर ।

हो,
मेरो अस्तित्वमा धावा बोलेर
मलाई
कुरुप, फोहोर, दुर्गन्धित
अशान्त र असुरक्षित बनाउने
तिमी हौ केवल तिमी ।
वर्षौँ पहिले म पनि तिमीभन्दा धेरै
सुकुमार र सुन्दर
कलात्मक र उर्वर
शान्त, स्वच्छ र हराभरा थिएँ ।
यी सबै तिमीले लुट्यौ , तिमीले …. ।