निस्पट्ट अँध्यारो
साउने औँसीको रात फैलिएजस्तो ।
पूर्वी दिशामा देखिँदैन सूर्यको किरण
हिमाल प्रफुल्ल भैकन पनि मुस्कुराउन नसक्दा
हरियाली छाएका पहाड नखुल्दा
निशब्द छ्न् मान्छेहरु
कालो बादलमा चाँदीको घेरा पनि देखिदैन
निशाको बिस्तार पनि रोकिएको छैन
ती व्यस्त शहरहरु
ती ताँत लागी हिँड्ने गाडीहरु
लाम लागेर हिँडने मान्छे नदेखेर
सडक गजधम्म भै सुतिदिँदा
निशब्द छ्न् मान्छेहरु
शान्त र निर्जन देखिने शहरी उद्यान हेर्दा
शान्त र अधिर विद्यालय क्षेत्रहरु
निर्जन भएका सिनेमाघरहरु
निन्याउरो मुख लगाउँदै विपत्तिको साक्षी बस्दा
संसार जितेको छु
प्रकृति जितेको छु
सृष्टि जितेको छु
छैन केही जित्नलाई भनी ठान्ने मान्छेलाई
किंकर्तव्यविमूढताले पछ्याइरहँदा
निशब्द छ्न् मान्छेहरु
साँच्चै सोच्न बाध्य छ ऊ
जीवन जिउन जे पनि गर्न सक्ने तिमी
बसुदैव कुटुम्बकम् किन भन्न सक्दैनौ
सर्वे भवन्तु सुखिनको माला किन जप्न सक्दैनौ
जुन अत्याचार आफूलाई पनि दुख्छ
त्यो अरुलाई पनि दुख्छ भनेर महसुस कहिले गर्छौ
जुन स्वतन्त्रता आफूलाई प्रिय हुन्छ
त्यो अरुलाई पनि प्रिय हुने कुरा कहिले सोच्छौ ।
बाउ बाजेले बनाएका सनातनी परम्पराहरु
जुन ॠषिहरुका हजारौँ वर्षका तपस्याका परिणाम थिए।
अनुभवका पोकाहरु
गुणले भरिएका
तर आधुनिकताका नाममा तिमीले मच्चाएको विध्वंस
कहिले रोक्छौ
निर्णय तिम्रो हातमा
निर्णय पनि तिम्रो परिणाम पनि तिम्रो
नोक्सान पनि तिम्रो लाभ पनि तिम्रो
संकट रोज्ने कि शान्ति
प्रेम रोज्नेकी आडम्बर
निशब्द छ्न् मान्छेहरु
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।