थाहा छैन
कता बग्छन यादहरू ?
यादहरू ताता हुन्छन् ।
तिनले पोल्दैनन ।
शितल वायुसँगै उडिरहन्छन् ।
घरि दायाँ त घरि बायाँ
चलिरहन्छन
कुर्दैनन
झुक्दैनन
बरू रङ फेरिरहन्छन
छेपारोसरि
बगिरहन्छन

रमाइरहन्छन ’चङ्गा’ जसरी
धागोमा बाँधिएर
लट्टाईँको इशारामा नाचिरहन्छन ।
कुर्दैनन भोलिलाई
उचाई नाप्न ।
बढिरहन्छन
हिँडिरहन्छन
थाक्दैनन्
किनकि तिनमा मांसपेशी हुँदैन ।
मात्र हुन्छन् सपना
र, तिनलाई बोक्ने चेष्टा ।

सोँच्दैनन्
हिजोका बारे ।
सोँच्दैनन्
भोलिका बारे ।
बस्
मनलाई फुरुङ्ग पार्दै
हावासँग तरेली खेल्दै
एकै रूखका हाँगामा
चहार्ने
राता
पहेँला
हरिया
नीला चराझैँ
भुर्रभुर्र
उफ्रिरहन्छन् ।
नाँचिरहन्छन् ।
र त बाँचिरहन्छन् ।

सायद तिनलाई थाहा छ ।
आकाशमा,
धरतीमाझैँ नाँच्न बन्देज छैन ।
आकाशमा,
धरतीमाझैँ बाँच्न बन्देज छैन ।
अनि, सपना साँच्न बन्देज छैन ।
हिँड्ने बाटोहरूलाई अवरोध छैन ।