टङ्क पन्थ
आगो बल्छ जलाउनै छ सब यी अज्ञानका बाधक
यौटा सभ्य समाजको सुजनको निम्त्याउँदै आगत
जाली छन् षडयन्त्रका कलमषी फाल्नै छ है बादल
आँखा खोल अबेर भो अब छिटो बज्दै छ लौ मादल ।।
हाम्रा गाउँ अचम्म छन् दिनदिनै मान्छे हिँडे बाहिर
हाम्रा ठाउँ विपन्न छन् विपदमा बस्ने भयौँ आखिर
आएनन् किन योजना समयमा आशा सबै व्यर्थ छन्
निष्ठा चिन्तन क्यै भएन सुझको जिप्ट्याउनै व्यग्र छन् !!
लाग्दैनन् किन घाम आज तनमा आजाद नै छैन र ?
बोल्दैनन् किन चुप्प छन् जनहरू बोल्ने घडी हैन र ?
काँचा छन् जब अग्रणी बल गरी रोजी कहाँ पाउनु !
हाम्रो देश बनाउने सबल ती खोजी कहाँ ल्याउनु ?
फल्दैनन् तर अन्न आज घरमा खाने कुरा टन्न छन्
पोख्दैनौँ पसिना समर्थ जनले बाँच्ने कुरा भिन्न छन्
बस्तीमा अहिले छ खेल रमिता गस्ती दियो बाँदर
खल्तीमा जब फल्छ दिव्य रुपियाँ के गर्नु खै जाँगर !!
साझा चेत कहाँ गए समझका छैनन् कुनै ल्याकत
घाँटी हेर्न परेन भित्र कसरी चल्दै छ हाम्रो घर ?
बुन्दैनौँ कपडा र शिल्प गतिलो यो देशमा छैन क्यै
गर्दै छौँ जुन काम ती कठिन छन् भिसा लिई अन्त गै !!
नेपाली महिमा रहेन गतिलो के बोल्नु त्यो खेदमा !
पर्दा त्याग हुँदैन आज गहिरो राख्दैन संवेदना
मैत्री भाव युगीन कर्म सुकिलो ढल्दै गयो एकता
प्यारो यो गणतन्त्रको महकिलो बास्ना गयो खै कता ?
खोजेमा सब चीज छन् प्रकृतिमा कल्ले क्षुधा लिन्छ खै ?
सोचेमा भरिपूर्ण छन् अमृतका कल्ले घडा दिन्छ खै ?
पाखा यी हरिया लिई नजरिया हेर्ने छ को देशमा ?
नेपाली ममता भरेर मनले बेर्ने छ को देशमा ?
छन्दः शार्दूलविक्रीडित
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।