Chovar Blues Mobile Size

 

ममता मिश्र

खै किन लाग्छ सधैँ यस्तो
यहाँ कोही मेरो
आफ्नो भन्ने भैदिए !
टुटाई आफूलाई
टुटेर मलाई चाही दिने
मानेर जीवन मलाई
मेरै लागि बाँची दिने
खै किन लाग्छ सधैँ यस्तो
यहाँ कोही मेरो
आफ्नो भन्ने भैदिए !

जिन्दगीको मीठो कल्पना
जब मनभित्र फूल्न थाल्छ
पीडा पनि मीठो लाग्छ
जब सपना जाग्न थाल्छ
त्यही सपनामा उडेर
जब म सयर गर्छु
दिलका नगरीहरू
अनि यो लाग्छ मलाई
यहाँ कोही मेरो
आफ्नो भन्ने भैदिए
उघारी दिलका ढोकाहरू
दिलमा सधैँ बास दिने
लुकाई हृदयको कुनामा
न्यानो मायाले साथ दिने
खै किन लाग्छ सधैँ यस्तो
यहाँ कोही मेरो
आफ्नो भन्ने भैदिए।

किन खोज्छ मनले कोही त्यस्तो
किन मनमा बढ्छ चाहना
किन मनमै बस्छ त्यस्तो कोही
किन मनमै बन्छ बहाना
मनले नै खोज्छ उसलाई
जो टुटेर मलाई चाही दिन्छ
मानेर जीवन मलाई
जो मेरै भई बाँचिदिन्छ।

यस्तै यस्तै तरंगमा
तरंगिन्छन मनहरू
मुर्झाएको फूलमा पनि
चढेझैँ लालीहरू
अनि यी फूलका लालीहरूसँगै
जब रंगिन्छ हृदयमा कोही
अनि फेरि
मन खोज्न थाल्छ उसैलाई
जो टुटेर मलाई चाहिदिन्छ
लुटाई बरु आफैँलाई
जो केवल मेरो भई बाँचिदिन्छ।

यी चाहतका रङहरू सँगै
जब जाग्छन् मेरा खुसीहरू
फेरि गुलाफ फुल्छ मनमा
भन्काउँदै भमराहरू
अनि फेरि लाग्छ मलाई
यी भमराहरू माझ पनि
उ त्यही कहीँ भैदिए
जो टुटाई आफूलाई
टुटेर मलाई चाहिदिन्छ
लुटाई आफूलाई
केवल मेरो भई बाँची दिन्छ।

अस्ट्रेलिया