दिनेश घिमिरे
अलिकति दु:ख कोरेथेँ गीत बनेछ
अलिकति सु:ख कोरेथेँ मित बनेछ
आफैँभित्र शब्द कहिले गीत बन्छ
आफैँभित्र शब्द कहिले मित बन्छ
स्वर आफ्नै गाथामा छ आफ्नै शब्द
आफैँभित्र कहिले गीत त कहिले मित।
शब्दहरू मिलाउँदै आफ्नै वेदना बनाउँछु
केलाउँदा केलाउँदै कहिले बेअर्थ बन्छु
शब्दहरू सकी-नसकी खुसी बनाउँछु
अनगिन्ती अस्वभावहरू देखापर्छन्
बेगले आफैँलाई बगाउँछ कि झैं लाग्छ
शब्दहरूको जगेर्ना झंझटिलो भएको छ
आफ्नै शब्दहरू कहिले गीत कहिले मित।
शब्दहरू मिलाउँदै मिलन बनाउन खोज्छु
केही यता भाग्छन् केही आफैँसँग भाग्छन्
शब्दको वेगमा स्वार्थ बाझिएर पो हो कि
शब्दको बेगमा बेअर्थ बाझिएर पो हो कि
शब्दहरूको मिलन गाथा बानाउँदै गर्दा
पाइलाहरूमा खिया लागेको पत्तै भएन
आफ्नै शब्दहरू कहिले गीत कहिले मित।
शब्दहरू जोख्छु अनि जीवनमा मिलाउँछु
यथार्थपरक अर्थ बनोस् भनेर म केलाउँछु
तथापि बेअर्थका शब्दहरू ममै मडारिन्छन्
आफैँलाई आफैँ गन्हाउने गरी ढुसुमुसु गर्छन्
कता आफैँ आफ्नै स्वार्थ अलापविलाप गर्दै
शब्दहरू कहिले गीत बन्छन् त कहिले मित।
आफ्नै शब्द आफ्नै मनसँग विभेदमा छन्
आफ्नै शब्द आफ्नै इच्छासँग विभेदमा छन्
आफ्नै शब्द मिलाएर आफ्नै गीत बनाउनु छ
आफ्नै शब्द मिलाएर आफ्नै मित बनाउनु छ
कहिले आकार मिल्दैन कहिले स्वार्थ मिल्दैन
नमिलेका शब्दहरूमा अर्थ मिलाउनु छ
नमिलेका शब्दहरूमा स्वार्थ मिलाउँदै
आफ्नै शब्दलाई सुमधुर आवाज बनाउनु छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।