मुसुक्क हाँसी मसिनो आवाजमा बोल्यौ तिमी जब
मनमा बस्यो शालीन अनि लजालु स्वभाव ।
मन मिल्यो विचार मिल्यो,चाहे जीवन साथै जिउन
माया दिई माया लिई लागेँ प्रेम निभाउन ।।
थिएँ एक, भयौँ दुई, एक अर्काको जिउने आधार
माया प्रेम र विश्वासले ल्यायो खुसीको बहार ।
रोजेँ मैले खुसी जीवन, साथ तिमीले दिंदै गयौ
हाम्रो प्रेमको फूलबारीमा ढकमक्क फूल फुल्यो ।।
तिम्रो साथ पाएदेखि मेरो जीवन अर्कै भयो
अल्मलिएको जिन्दगीले गन्तव्यको दिशा लियो ।
मैले तिम्रो साथ लिई जिन्दगीमा अगाडि बढ्दा
गति लियो जीवनले हामी दुईको मन मिल्दा ।।
जिन्दगीको रथ तान्दा हाँसो रोदन दुबै पाएँ
सुख दुःख, खुसी, पीडा तिमी सँगै भोग्दै गएँ ।
भविष्यको सुख खोज्दै छोटो विदेश बसाई रोजेँ
तिमीबाट टाढा हुँदा निकै धेरै पीडा भोगेँ ।।
साँचै प्रिय ! आज तिम्रो निकै अभाव महसुस गरें
भेटेदेखि हालसम्मका हरेकपलको याद गरेँ ।
मेसेन्जर र ह्वाट्सएपमा तिम्रा सबै टेक्स्ट पढेँ
तिम्रा हरेक शब्दबाट मेरो मनमा प्रेम भरें ।।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

