
बाछिटा लघुत्तम काव्यिक उपविधा हो। यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ।
जीवन, जगत् र भोगाइका अनन्त चेतना,चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप,दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ।
बाछिटा रचना तीन पाँच तीन अक्षरयुक्त तीन पंक्तिमा गरिन्छ।बाछिटाको पहिलो पंक्तिले विषयवस्तुको उठान गर्नुपर्छ।
बाछिटाको दोस्रो पंक्तिले विषयवस्तुलाई विस्तार गर्दै उत्कर्षमा पऱ्याउनुपर्छ।बाछिटाको तेस्रो पंक्तिले विषयवस्तुको पुष्टि गर्दै मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्छ।
बाछिटाको तीन पंक्तिबीच भाव र अर्थगत सामन्जस्यता हुनैपर्छ।बाछिटाको अक्षर संरचना वा गणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्छ।बाछिटाको प्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्छ।बाछिटाको अभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्छ।बाछिटा रचना गर्दा निपात र संयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिन्छ।बाछिटाकारले समाजमा परम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडि पछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य मानिन्छ।
बाछिटा लेखनमा उल्लेखित मान्यताको सर्वोपरि महत्व रहेको छ। तीन पाँच तीन अक्षर मिल्दैमा बाछिटा हुँदैन, त्यसमा प्रकृति बिम्ब र प्रतीकात्मक प्रस्तुति हुनैपर्छ।
बाछिटा काव्यिक उपविधा हो। यसको लेखन सहज पनि छ र असहज पनि छ।बिम्ब के हो ? प्रतीक के हो ? वा लक्षणा र व्यञ्जना शब्दशक्ति के हो ? लेखनमा यसको प्रयोग कसरी गर्नसकिन्छ ? भन्ने कुराको गहन अध्ययनबाट स्पष्ट भएर बाछिटा रचना गर्दा यसको लेखन सहज बन्नसक्छ। साथै मानव जीवन र मानव जीवनका सम्पूर्ण क्रियाकलापहरूलाई
प्रकृतिकरण गरेर वा प्रकृतिजन्य सम्पूर्ण क्रियाकलापहरूलाई मानवीकरण गरेर अर्थात् प्रकृतिका विविध स्वरूपलाई जीवन भोगाइका विभिन्न पक्षसँग वा जीवन भोगाइका विभिन्न पक्षलाई प्रकृतिका विविध स्वरूपसँग दाँजेर वा तुलना गरेर बाछिटा रचना गर्दा प्रकृतिबिम्बको उपस्थिति पनि देखिन्छ र प्रतीकात्मक पनि बन्छ वा बाछिटा लेखन सहज बन्छ।
बाछिटाको काव्यिक उपविधाको रूपमा २०७७ साल जेठ २ गते सर्जक खगेन्द्र बस्यालको साथ र समर्थनमा बाछिटा काव्यिक उपविधाका परिकल्पनाकार अमर त्यागीले सिद्धान्त निर्माणसहित प्रवर्तन गरेका हुन्। प्रवर्तनको छोटो समयमै अनेकौं अग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिदै आएको छ।अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् । साहित्य पोस्टको “बाछिटा प्रकाशनमाला-२१ मा सक्रिय बाछिटाकारहरू मन्दा पौडेल,गङ्गा खड्का,प्रिमी न्यौपाने,मिरा ज्ञवाली र सरस्वती न्यौपानेका पाँच दर्जन बाछिटाहरू प्रस्तुत गरिएका छन्।यसपछि अन्य सर्जकहरूका बाछिटाहरू क्रमश: प्रस्तुत गरिने छन्।सय शृङ्खला पुगेपछि सबै बाछिटाहरू सङ्कलित “समकालीन नेपाली बाछिटा” नामको बृहद् कृति प्रकाशन गर्ने उद्देश्यका साथ बाछिटा प्रकाशनमाला आरम्भ गरिएको हो।
पाँच दर्जन बाछिटा
१.मन्दा पौडेल
ममता
शीतल छाया
समता
चेतना
फलित वृक्ष
सिर्जना
पुजारी
बुख्याँचा छद्म
आचारी
दुर्जन
कर्ममा लिप्त
सज्जन
असल
कर्ममा फल
सफल
चिन्तन
ज्ञानसुधाको
मन्थन
वसन्त
बैंस डालीमा
सौन्दर्य
प्रभात
सुनौलो इच्छा
स्वागत
अभ्यास
सृजना जन्म
प्रयास
अदम्य
चाहना घाम
सादृश्य
रहर
चाँदनी घेरा
सुन्दर
कसिला
रचना फूल
रसिला
~~<>~~
२. गङ्गा खड्का
कदर
नैतिक छवि
सदर
नरम
भुवा हृदय
गरम
स्वप्निल
सुखको छाया
पेमिल
चुन्दै छ
सत्य सृजना
बुन्दै छ
छायाले
शीतल मन
मायाले
क्षोभले
मान्छे खरानी
लोभले
तरेली
शीत छपक्क
परेली
जूनको
रूप सुन्दर
गुनको
अभीष्ट
प्रदीप्ति प्राप्ति
विशिष्ट
यस्तै हो
कर्म खेतीमा
व्यस्तै भो
सृष्टिको
सार सुरम्य
दृष्टिको
बेलामा
श्रम रोपाईँ
मेलामा
~~<>~~
३. प्रिमी न्यौपाने
प्रतीक्षा
उज्यालो प्राप्ति
सदिक्षा
चाहना
फुलेर झर्ने
बहाना
रातमा
जून प्रेयसी
साथमा
सपना
सुखको आश
रटना
सारमा
छुपक्क मान्छे
प्यारमा
गाजल
नेत्रनभको
बादल
फलाम
मन पगाल्ने
सलाम
गुलाफ
प्रेम प्रतीक
जवाफ
धाएको
सुवास माया
लाएको
सुनको
शोभा सदैव
गुनको
प्रीतिको
छायामा माया
जितको
सुन्दर
जीवन हाम्रो
मन्दिर
~~<>~~
४. मीरा ज्ञवाली ‘आस्था’
चुलीमा
घमण्ड चढ्छ
सुलीमा
धीरता
उच्च हिमाल
वीरता
सागर
प्रेम भरिने
गागर
भिन्नता
जातमा रात
खिन्नता
रातमा
सपना राम्रो
प्रातमा
पालमा
गरिब दु:ख
जालमा
भोकमा
मनै अँध्यारो
शोकमा
शीलता
गहना राम्रो
धीरता
झुटको
कालो भावना
गुटको
पालिस
भावना स्वार्थ
मालिस
छहरा
दु:खको ओत
टहरा
रूष्ट छन्
आफन्त काँडा
दुष्ट छन्
~~<>~~
५. सरस्वती न्यौपाने
छायाको
शीतलपन
मायाको
कर्मको
चैतन्यज्योति
धर्मको
गाएको
भाकामा हर्ष
छाएको
मिचेको
सीमामा जुनी
किचेको
मतिको
निस्क्रिय हिलो
क्षतिको
बेनामी
दु:ख सागर
सुनामी
छेपारे
मान्छेको बानी
बेसारे
फूर्तिको
खेल हिलोमा
कुर्सीको
जलन
ग्रीष्मको ताप
सहन
झलक्क
घमण्ड खेती
हलक्क
दुर्बोध्य
भावशिखर
अभेद्य
अँगार
भावना भेल
जँघार
~~<>~~



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

बाछिटा प्रतियोगिताको तेत्तीसौँ शृङ्खला : कर्ण, सरस्वती र रोशनका बाछिटा सर्वोत्कृष्ट
