उमाकान्त शर्माका तीन कविता

१. अनुभव
मलाई लाग्छ कतै
मेरो प्राणवायु चोरिएको
मर्न लागेको माछाझैँ
एकुरियम फुटेपछिको
आँखो फुटाई अन्धो पारेको
मुख थुनेर
मस्तिष्क घोपेको ।

मलाई लाग्छ कतै
हात लाचार भई सुकिसकेको
पक्षाघातमा खुट्टा
अचल हुन थालेको
छटपटाइरहने कलेजोको
स्पन्दन स्तब्ध भएको
मस्तिष्क बजारमा बेचिन लागेको
मेरो आकाशबाट
प्राणवायु चोरिएको
म छटपटाइरहेको
मर्न लागेको माछाझैँ
एकुरियम फुटेपछिको ।
२. नयाँ इतिहास
मक्की सकेको हड्डीमा
मासु टँसाएर त हेर
हरियो नसाभित्र
रगत बगाएर त हेर
स्पन्दन बन्ध हुन्छ भने
कलेजो थपेर हेर ।
ऊ आज अस्थिर छ
जिस्काएर त हेर
न्याच न्युच पार्छ तिमीलाई
सामु आएर त हेर ।
रगत उम्लिसकेको छ
छोएर त हेर ।
नयाँ इतिहास कोरिसकेको छ
पातो पल्टाएर त हेर ।
३. भित्री बाघ बोल्दै छ
सावधान गरिदेऊ सबैलाई
मेरो भित्री बाघ
फुत्किसकेछ
सन्त्रस्त पार्दै सबैलाई
उता मान्छे खान थालेछ ।
कहिले यता कहिले उता
च्याप्दै घाँटी चिर्दै भित्ता
भोको धेरै दिनको
उता मान्छे मार्न लागेछ ।
नरमासु लालची ऊ
अब ता हिंस्रक बनिसकेछ
आलो मासुको स्वादले
उसलाई नरपिशाच पारेछ ।
बाघ पनि अचम्मको रहेछ
रोजी-रोजी मान्छे मार्दै छ।
र भन्छु साथी
सावधान गरिदेऊ सबैलाई
मेरो भित्री बाघ
फुत्किसकेछ
अब ता ऊ मान्छे खान थालेछ ।