वासुसेन, राधेय, वैकर्तन नामको महारथी, महाबली अङ्गराज ।
सूतपुत्र भनी हेला पाए पनि ऊ वीरमा थिए राजाको महाराज ।।१।।
आऔँ प्रणाम गरौँ कालजयी दानवीर कुन्तीपुत्र कर्णलाई ।
उसको स्मरण मात्र गर्दा लाग्छ सबैमा वीररस छर्नलाई ।।२।।
जन्मबाट पाए कानमा कुण्डल, आङ्मा कवच, मुखमण्डलमा तेज ।
वर्णन गरूँ कसरी, आङ नै जिरिङ्ग भयो सुरु गर्दा कर्णमा लेख ।।३।।
द्रौपदी स्वयंवरमा तिरस्कार पाए, आफ्नै आमा कुन्तीबाट तृष्णा पाए ।
अपमानको विष बोकेर हिँड्ने, कर्णले दुर्योधनबाट अङ्ग देश पाए ।।४।।
कोखको नाता नभए पनि, छोडेनन् पिता अधिरथ अनि माता राधालाई ।
द्रोणले उपेक्षा गरे पनि तहसनहस गरिदिए पथमा हुने सबै बाधालाई ।।५।।
मित्रताका पराकाष्ठा थिए, दुर्योधनलाई विश्व सम्राट् बनाउने लक्ष्यमा ।
असंख्य राजा परास्त गरी मुकुट झुकाए मित्र दुर्योधनको पक्षमा ।।६।।
वीरलाई रणभूमि सुहाउँछ र म महारथीलाई रणभूमिमा लैजाँदै छु।
प्रलयकारी महारथीले सजेको कुरुक्षेत्र रणमा सबैलाई लैजाँदै छु ।।७।।
‘मेरो ध्वजतल गर्दैन युद्ध कर्णले’ सेनापति भीष्मको आदेशमा ।
दस दिनसम्म क्षण-क्षण छट्पटाइरहे, अर्जुनवधको आवेशमा ।।८।।
भीष्म मृत्युशय्यामा गए, द्रोणचार्य सेनापति भए, तब कर्ण रणमा गए ।
कपटी कौरवको छलमा अभिमन्यु वध गरी पश्चत्तापको चरणमा गए ।।९।।
साचेर राखेको इन्द्रास्त्र शक्ति, अर्जुन संहार उनको जीवन लक्ष्य थियो ।
घटोत्कच वध गरी कौरवसेना साथै दुर्योधन बचाउन पनि जरुरी थियो ।।१०।।
किञ्चित् मनमा भय थिएन कर्णलाई इन्द्रास्त्र उनको तर कसबाट गएर ।
अर्जुनलाई पलमै मृत्युलोक पुऱ्याउन सक्षम थिए अरू दैवी अस्त्र भएर ।।११।।
अग्न्यास्त्र, वरुणास्त्र, वैष्णवास्त्र, नागास्त्र, ब्रह्मास्त्रमा उनी निपुण थिए ।
सूर्यपुत्र, सूर्यतेज धारण गरी हिँड्ने, युद्धमा सर्वसम्पन्न सर्वगुण थिए ।।१२।।
धर्मपक्षका भयभीत महारथी कृष्णको सलाहमा छलको बाटो अपनाए ।
कवच-कुण्डल छिने, कृष्णले कुन्तीपुत्र भनी, कर्णलाई दुई धार बनाए ।।१३।।
श्रापले ऊ परिपूर्ण थिए, गुरु परशुरामको, धरती आमाको, ब्राह्मणको ।
तर! साहसको, शौर्यको, प्रतापको, शस्त्रले लेस थिए अझै अपमानको ।।१४।।
सोह्र दिनको युद्ध थियो, सूर्यपुत्रको तेजमा आज अझै तेज थियो ।
महाबली, महापराक्रमी भीमसँग लड्न ऊ आज अझै उत्तेजित थियो ।।१५।।
जरासन्ध हराउने, शिशुपाल हराउने चारै दिशाका राजा डराउने ।
भीषण सङ्ग्राममा उसको हुङ्कार थियो रणबाट सबैलाई भगाउने ।।१६।।
नकुल, सहदेव, युधिष्ठिर, दुई-तीन वाण चलाई जीवनदान दिए ।
भीषण युद्ध भीमसँग गरी, महाबलिलाई पनि प्राणदान दिए ।।१७।।
‘पाँच पाण्डव युद्ध उपरान्त पाँचै हुनेछन्’ वचन साथमा बोकेर ।
युद्धका लागि आह्वान गरे, गाण्डीवधारी अर्जुनको सामु रथ रोकेर ।।१८।।
भयङ्कर द्वन्द्वयुद्धका लागि तयार थिए दुवै शुरवीर त्यहाँ ।
रणचण्डी, कालीको रूप देखाउन तयार थिए बलवीर त्यहाँ ।।१९।।
हर-हर महादेव, जय दुर्गा-कालीको उद्घोष कुरुक्षेत्रमा गुन्जियो ।
कर्णको एकै विषवाणले रणभूमि रगतले क्षणमै सिन्चियो ।।२०।।
‘हे अर्जुन! आज देखा मेरो सामु धनुर्विद्याको बल तैँले सिकेको ।
परशुराम शिष्य हुँ, सम्पूर्ण राजा झुकाएको छु सबैले देखेको’ ।।२१।।
सूतपुत्र कर्ण, धनुष हातमा, शल्य सारथि हुँदा, कोही वीर हुँदैन ।
तैँले कैयौँ वाण चलाए पनि मेरो छाती पक्कै तेरो वाणले छुँदैन ।।२२।।
कर्णले धनुषमा वाण सन्धान गरे, दैवी शक्तिलाई अवतरण गरे ।
अर्जुनले नि वाण सन्धान गरे, वीर छु भनी गुरुमन्त्र उच्चारण गरे ।।२३।।
दुइटै दैवी शक्ति वाणको भीषण भयलाग्दो भिडन्त भयो ।
हेर्दाहेर्दै तेजले छेउछाउका सेनामा डरलाग्दो मरन्त भयो ।।२४।।
कर्ण आज रण छिन्ने अग्नि बोकी, अर्जुनवध गर्ने मन बनाए ।
सन-सन हुने वाण चलाए, अर्जुनको छाती लहुलुहान बनाए ।।२५।।
क्षणमै अर्को विषवाणले भुजामा जोरदार प्रहार गरे ।
तीन, चार, पाँच वाणमै सर्वश्रेष्ठ धनुर्धारी भयमा परे ।।२६।।
अचुक, अमोघ वैष्णवास्त्र सन्धान गरी अर्जुनमा प्रहार गरे ।
भयभीत भएको अर्जुन देखर नारायणले शक्ति स्वयं ग्रहण गरे ।।२७।।
युद्धविरामको शङ्खनाद भयो, युद्ध समाप्तको उद्घोष बज्यो ।
वध हुँदाहुँदै आज कृष्णको रक्षाले अर्जुनको प्राण बच्यो ।।२८।।
त्यो रात अर्जुन सुत्न सकेनन्, कर्णशक्तिको अनुमान लगाउन सकेनन् ।
मनमा छाएको भय कति गर्दा पनि मनबाट भगाउन सकेनन् ।।२९।।
सत्र दिनको युद्धको बेला आयो, कर्ण-अर्जुन निर्णायक युद्धको पल आयो ।
सर्वश्रेष्ठ को हो भन्ने ? द्वन्द्व युद्धको आज चारैतिर वातावरणको छायो ।।३०।।
शल्य रथ हाँक्ने, कर्ण वाणले विशाल सेना चिर्ने अनि मार्ने ।
जो युद्ध चेष्टा गरी अघि आउने अङ्गराजसँग क्षणमै हार्ने ।।३१।।
नकुल, सहदेव, युधिष्ठिर, भीमले आज पनि जीवनदान पाए ।
एक-एक गर्दै पाण्डव पक्षका महारथीले कर्णका विषवाण खाए ।।३२।।
अजर्नुको खोजीमा आज पनि कर्ण थिए जो सर्वश्रेष्ठ धनुर्धारी ठान्छ ।
नारायण, हुनमान् बिराजेको रथमा बसी आफूलाई वीर मान्छ ।।३३।।
अर्जुनसामु आओस् भनी विजय धनुषले भार्गवास्त्र चलाए ।
प्रलयकारी शक्तिको तापले पाण्डव सेना कति कर्णले जलाए ।।३४।।
रणमैदानमा हाहाकार मच्यो, ज्यान बचाउन होड मच्यो ।
धर्म बचाउने कृष्णको मनमा भयभीत अर्जुनदेखि मनै भाँच्यो ।।३५।।
नारायणले अनुमान गरे, विकराल कर्णसामु ठिक हुन्छ रथ नलगे ।
कर्ण गलेपछि द्वन्द्वयुद्ध होला भनी निकासतिर कृष्णले रथ लगे ।।३६।।
पलायनदेखि कर्ण क्रोधित भए, अनि भार्गवास्त्र फिर्ता गरे ।
यसमध्ये नारायणले स्थिति सामान्य बुझेर कर्णतिर रथ गरे ।।३७।।
कुरुक्षेत्रमा निर्णायक युद्धको फेरि आज क्षण आयो ।
रगत बगाउने द्वन्द्व युद्धको आज अन्तिम बेला आयो ।।३८।।
दुइटैका तरकसमा भरपुर तीर थिए, साथमा शूरवीर थिए ।
एक अर्काको वधका लागि कर्ण-अर्जुन आज अधीर थिए ।।३९।।
दुइटै धनुषको टङ्कार गुन्जियो, दुवै दलका सैनिक भयभीत भए ।
हाहाकार मच्चियो, विकराल रूप देखी सबै अभिभूत भए ।।४०।।
सननन गर्दै तीर चले, छनछन गर्दै वीर हिँडे ।
हिँ-हिँ-हिँ गर्दै अश्व दौडे, दुइ वीर आपसमा भिडे ।।४१।।
वाणमा-वाण, शक्तिमा महाशक्ति, वीरमा महावीरमा टकाराए ।
भीषण युद्ध देखेर कुरुक्षेत्रका वीरहरू पनि चकराए ।।४२।।
अर्जुनले वाण सन्धान गरे, अग्न्यास्त्र छोडे, त्राहिमाम्-त्राहिमाम् छायो ।
त्राहिमाम्-त्राहिमाम् देखेर दुर्योधनले मनमा अर्जुनको ठुलो भय पायो ।।४३।।
गुरुबाट श्रापित कर्णले पनि वरुणास्त्र छोडी पानी-पानी पारे ।
पलमै अग्नि नासेर जलले नै रिपु उनले कति मारे-मारे ।।४४।।
जलाशय देखी पाण्डवपक्ष पनि डरले पानी-पानी भए ।
अर्जुन त अर्जुन थिए वाय्वास्त्र चलाई फेरि अभिमानी भए ।।४५।।
युद्धमा युद्ध थियो, टङ्कारमा टङ्कार थियो रणक्षेत्र भयो भयङ्कर अनि ।
चण्डी, दुर्गा, काली यो दृश्य हेर्दै थिए साथमा महादेव शङ्कर पनि ।।४६।।
दैवी शक्तिको बेजोड युद्ध भयो, रणक्षेत्र आज सन्तुष्ट भयो ।
हेर्दाहेर्दै कर्णको वाणले ढकमक बनाई आकाश उत्कृष्ट भयो ।।४७।।
अर्जुनको वाणले रथ दस पाइला जाने, कर्णकाले मात्र सात ।
कर्णको बारमा कुष्ण भन्ने वाह-२, अर्जुनलाई पचेन यो कटु बात ।।४८।।
‘हे गोपाल, मेरो वाणले दस पाइला रथ पिछे सऱ्यो ।
हजुरलाई मेरो वाह-२ गर्न पनि यति किन साह्रो पऱ्यो ।।४९।।
‘म स्वयं तीन लोकको स्वामी अनि रथमा बिराजेका छन् हनुमान् ।
त्यही नि सात पाइला साऱ्यो कर्णले, आफ्नो बारमा नगर अभिमान ।।५०।।
म साथै हनुमान् नहुँदा, यो रथ उसको शक्तिले उड्नेछ ।
महावीर कर्णको पराक्रमले पलमै तिम्रो पसिना छुट्नेछ ।।५१।।
तीरमा तीर लडे, शक्तिको तेजमा कति सैनिक मरे ।
यो भीष्ण सङ्ग्राम देखेर कुरुक्षेत्रका वीर पनि छक्क परे ।।५२।।
तेह्रचोटि कर्णले अर्जुको प्रत्यञ्चा काटी पलडा भारी गर्दै थिए ।
कर्णको तेज आफ्नो सामु देखी अर्जुन बिच-बिचमा पछि सर्दै थिए ।।५३।।
दुवै शूरवीर त्यहाँ वीरत्व बोकी भयङ्कर युद्ध गरे बारम्बार ।
रथपहिया कर्णको भुईँमा धसियो, श्राप याद आयो बारम्बार ।।५४।।
पहिया धसे पनि कर्णको वीरता थिएन माटामा धँसेको ।
वीर कर्ण आफैँ निकाल्न लागे पहियाँ माटामा फसेको ।।५५।।
अर्जुनले अवसर पाए तीरले कर्णप्रति जोरदा पहार गरे ।
निःशस्त्र कर्ण घायल भए पनि, फेरि ब्रह्मास्त्र सन्धान गरे ।।५६।।
श्रापको महिमाले मन्त्र भुले, उनको सबै शक्ति भयो क्षीण ।
वेश्या भनेको, अभिमन्यु वधको, अर्जुनलाई तिर्नु थियो ऋण ।।५८।।
कृष्णको आदेश पाए, एकै वाणले टाउको धडबाट अलग पारे ।
यस प्रकार वीर अर्जुनले रणमा निहत्ता सूर्यपुत्रलाई मारे ।।५८।।
त्यो शूरवीर, महावीर, महाबलीको तेज, सूर्यमा विलीन भयो ।
साहस, वीरता, धैर्य, मृतपछि पनि उसको सधैँ अधीन भयो ।।५९।।
अधर्मको पक्षमा युद्ध लडेर शूरवीर कर्ण भए पराजय ।
मैत्री धर्म निभाउने दानवीर कर्णलाई गरौँ जय-जय ।।६०।।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।